काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा देखिएको मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरेकी छन्।
रास्वपा महाधिवेशनका लागि चितवन पुगेकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान तथा द्वन्द्व न्यूनीकरणका उपायबारे जानकारी लिएकी हुन्। उनले मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्न सरकारले आवश्यक कदम दृढतापूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।
भ्रमणका क्रममा मन्त्री चौधरीले देवनगरमा प्रस्तावित ‘टाइगर सेन्चुरी’ निर्माणस्थलको स्थलगत अवलोकनसमेत गरेकी छन्। करिब ५० हेक्टर क्षेत्रमा प्रस्तावित उक्त परियोजनाअन्तर्गत समस्याग्रस्त तथा घाइते बाघहरूको व्यवस्थापन गर्ने योजना सरकारले अघि सारेको छ।
देशभर एक दर्जनभन्दा बढी समस्याग्रस्त बाघहरू इन्क्लोजरमा राखिएकाले व्यवस्थापन खर्चिलो बन्दै गएको सन्दर्भमा टाइगर सेन्चुरी उपयोगी हुने अपेक्षा गरिएको छ। मन्त्री चौधरीले उक्त परियोजनाले बाघलाई प्राकृतिक वातावरण प्रदान गर्नुका साथै पर्या–पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।




