काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.७८ अंकले बढेर २६६१.७१ विन्दुमा पुगेको छ।
नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। बुधबार ३ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
आज ३५९ कम्पनीका ८९ लाख ६४ हजार २२३ कित्ता सेयर कारोबार भएका छन्। बजारमा सुधार आउँदा अपर लोहोरे खोला हाइड्रोपावर, कालिंगा हाइड्रोपावर र स्नो रिभर्सको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ।
सानीगाढ हाइड्रोपावरको सेयर मूल्य १४.९७ प्रतिशतले वृद्धि हुँदा धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर १३.६७ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक अग्रस्थानमा रह्यो। बैंकको ४१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका कम्पनीमध्ये १०८ वटाको सेयर मूल्य बढेको, १५२ वटाको घटेको तथा १३ वटाको मूल्य स्थिर रहेको छ।
उपसमूहतर्फ बैंकिङ समूहले सबैभन्दा धेरै २.०४ प्रतिशतको वृद्धि दर्ज गरेको छ। समग्रमा पाँच उपसमूहका परिसूचक बढेका छन् भने बाँकी समूहहरू ओरालो लागेका छन्।




