काठमाडौं । अस्ट्रेलिया र फिजीबीच सोमबार रक्षा सहयोगसम्बन्धी नयाँ सम्झौतामा हस्ताक्षर भएको छ। दक्षिण प्रशान्त क्षेत्रमा सुरक्षा सहकार्य मजबुत बनाउने उद्देश्यसहित गरिएको यो सम्झौतालाई चीनको बढ्दो प्रभावबीच महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
‘ओसन अफ पिस’ नाम दिइएको सम्झौताअनुसार फिजी अब अस्ट्रेलियाका सीमित रक्षा साझेदार राष्ट्रहरूको सूचीमा समावेश भएको छ। सम्झौताले दुवै देशबीच पारस्परिक रक्षा तथा सुरक्षा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
सन् २०२२ मा चीनले सोलोमन टापुसँग सुरक्षा सम्झौता गरेपछि दक्षिण प्रशान्त क्षेत्रमा उसको सम्भावित सैन्य उपस्थितिबारे चासो बढेको थियो। त्यसयता अस्ट्रेलियाले पपुवा न्यू गिनी, भानुआटु र टुभालुसँग पनि सुरक्षा तथा रक्षा सहकार्यसम्बन्धी सम्झौताहरू गर्दै आएको छ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फिजीको राजधानी सुभामा फिजीका प्रधानमन्त्री सिटिभेनी राबुकासँग उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।
अस्ट्रेलियाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो सम्झौताले शान्त, समृद्ध र सुरक्षित दक्षिण प्रशान्त क्षेत्र निर्माण गर्ने दुवै देशको साझा लक्ष्यलाई थप मजबुत बनाउने उल्लेख गरिएको छ।




