२०८३ श्रावण १०

नवलपरासीमा ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते, ट्रक चालक प्रहरी नियन्त्रणमा

काठमाडौं । नवलपरासीमा विद्युतीय भ्यान (ईभी) र ट्रक आपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। मंगलबार बर्दघाट नगरपालिका–४ स्थित तारेभिर क्षेत्रमा भएको दुर्घटनामा भ्यानमा सवार यात्रु तथा चालकसहित १० जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुटवलबाट काठमाडौं जाँदै गरेको बाप्र ०८–००१ ज ००९४ नम्बरको ईभी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना.६ ख ३४६० नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा काठमाडौं कपनका ३३ वर्षीय बद्री मगर, स्वयम्भूका २५ वर्षीय नेत्रलाल नेवा, भारतीय नागरिक ६५ वर्षीय जगदीश बिएल, चितवन कालिका नगरपालिका–३ पदमपुरकी ६५ वर्षीया यनु मगर, रुपन्देही बुटवलका ४० वर्षीय रूप गुरुङ घाइते भएका छन्।

यस्तै, ईभी भ्यानका सहचालक ३५ वर्षीय गोविन्द थापा, चालक रुपन्देही बुटवल–१२ ढवाहका ४४ वर्षीय कृष्ण थापा, गुल्मी इस्मा गाउँपालिका–६ का २१ वर्षीय किरण मुखिया, भारतीय नागरिक ६१ वर्षीय नन्जुण्डे गोडा र रुपन्देही बुटवल–१७ का २८ वर्षीय प्रकाश भट्टराई पनि दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये चार जनालाई थप उपचारका लागि देवदह मेडिकल कलेज, भलुही पठाइएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनापछि प्रहरीले ट्रक चालक ३५ वर्षीय बुद्धिबहादुर ठोकरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।