काठमाडौं । अमेरिकी प्रशान्त क्षेत्रका केही भूभागमा आएको शक्तिशाली आँधी (सुपर टाइफुन) बावीका कारण गुआम र उत्तरी मारियानासका हजारौं मानिस प्रभावित भएका छन्। आँधीका कारण ठूलो मात्रामा विद्युत् सेवा अवरुद्ध भए पनि हालसम्म मानवीय क्षतिको विवरण सार्वजनिक नभएको अधिकारीहरूले जनाएका छन्।
आँधीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र उत्तरी मारियानासको रोटा टापु बनेको छ। त्यहाँ सोमबार प्रतिघण्टा २९० किलोमिटरसम्मको वेगमा हावा चलेपछि रूख तथा विद्युत् पोलहरू ढलेका छन्। यसले विद्युत् लाइनमा क्षति पुर्याउनुका साथै खानेपानी आपूर्तिसमेत प्रभावित भएको जनाइएको छ।
सुपर टाइफुन बावीका कारण केही क्षेत्रमा घरहरूमा क्षति पुगेको र छाना उडाएको विवरण आएको छ। प्रभावित क्षेत्रका बासिन्दाले विद्युत्, पानी र मोबाइल नेटवर्कजस्ता अत्यावश्यक सेवामा अवरोध हुँदा दैनिक जीवन कठिन बनेको बताएका छन्।
उत्तरी मारियानासका प्रमुख टापुहरू साइपान र टिनियन तथा नजिकैको गुआमका केही भागमा समेत विद्युत् सेवा प्रभावित भएको छ। यी क्षेत्रहरू अमेरिकाका महत्वपूर्ण सैन्य संरचना रहेका भूभागका रूपमा चिनिन्छन्।
स्थानीय प्रशासनले क्षतिको विवरण संकलन र आवश्यक सेवा पुनःस्थापनाका लागि काम गरिरहेको जनाएको छ। हालसम्म आँधीका कारण कुनै मानवीय क्षतिको पुष्टि नभएको बताइएको छ।




