काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या समाधान, भौतिक पूर्वाधार विकास, लगानी वातावरण सुधार तथा आर्थिक सुधारका विषयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग छलफल गरेका छन्।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएकाले यस क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताए।
उनले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम निर्धारित समयमै सम्पन्न गर्न सरकार, निजी क्षेत्रलगायत सबै पक्षबीच सक्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिए।
छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी थिए।
महासंघका पदाधिकारीहरूले निर्माण क्षेत्रले भोगिरहेका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
उनीहरूले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए।
छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र तथा प्रमुख स्वकीय सचिव सुवास शर्मा पनि सहभागी थिए।




