२०८३ श्रावण ११

डलर ठगी प्रकरणमा एक पक्राउ

काठमाडौं । सस्तो दरमा अमेरिकी डलर साट्ने भन्दै एक वृद्ध सुन व्यवसायीबाट लाखौँ रुपैयाँ र सुन ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पोखरा महानगरपालिका–१७ का ६९ वर्षीय सुनचाँदी व्यवसायी थमान सिंह विश्वकर्मालाई ६५ हजार अमेरिकी डलर सस्तो मूल्यमा उपलब्ध गराउने भन्दै सम्पर्क गरिएको थियो। ठूलो नाफा हुने प्रलोभन देखाएर उनलाई धुनिवेशी नगरपालिका–८ चुलेडाँडाको एकान्त क्षेत्रमा बोलाइएको प्रहरीले जनाएको छ।

त्यहाँ पुगेपछि पीडितसँग रहेको ११ लाख ७५ हजार रुपैयाँ नगद र करिब डेढ तोला सुनका गहना लिइएको थियो। त्यसको बदलामा डलर रहेको भन्दै एउटा पोका दिइएकोमा पछि खोल्दा अमेरिकी डलर नभई खाली कागजका बन्डल मात्र भेटिएको प्रहरीले जनाएको छ।

घटनापछि पीडितले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान सुरु भएको थियो। अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको सहयोगमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ बस्ने ३७ वर्षीय बुद्धि बहादुर योञ्जनलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट घटनामा प्रयोग भएको मोटरसाइकल र डलरको पोका जस्तो देखाउन राखिएका खाली कागजका बन्डल बरामद गरिएको छ।

धादिङ प्रहरीका सूचना अधिकारी प्रकाश दाहालका अनुसार पक्राउ परेका योञ्जनविरुद्ध ठगी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।