२०८३ श्रावण १०

तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी पार्किङ, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं । काठमाडौंका तीन सञ्चार गृहको गेटमा शंकास्पद रूपमा पार्किङ गरिएका सवारी साधनबारे प्रहरीले अनुसन्धान थालेको छ।

कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनको गेटमा लामो समयदेखि पार्किङ गरिएका सवारी साधन ट्राफिक प्रहरीले क्रेनको सहायताले हटाएको छ। ती सवारी साधनको स्वामित्व र पार्किङको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अनलाइनखबरको गेटमा भेटिएको बा १२ च ८५४५ नम्बरको कार सुनिल पौडेलको नाममा दर्ता रहेको पाइएको छ। यस्तै, कान्तिपुर पब्लिकेशनको गेटमा राखिएको बा प्रदेश ०१–०३४ च ८४८० नम्बरको जिप सानीमा बैंकको नाममा रहेको र बैंकबाट कर्जा लिएर एसटी मोटर्सले प्रयोग गर्दै आएको खुलेको छ।

हिमालय टेलिभिजनको गेटमा भेटिएको बा १० च १२५५ नम्बरको कार भने डीआर अटो मोटिभ्सको नाममा दर्ता रहेको यातायात व्यवस्था विभाग स्रोतले जनाएको छ।

यसैबीच, अनामनगरस्थित भाटभटेनी सुपर मार्केट अगाडि पनि ०३३ च ४२७५ नम्बरको हुण्डाई क्रेटा शंकास्पद अवस्थामा पार्किङ गरिएको भेटिएको छ। उक्त सवारीको धनी भने खुलेको छैन।