२०८३ श्रावण १०

आत्मदाह गरेका गणेश नेपालीको शव परिवारले बुझे, अनुसन्धान अघि बढ्यो

काठमाडौं । आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको शव परिवारले बुझेको छ। उनको अन्त्येष्टिका लागि अहिले पशुपति आर्यघाटमा तयारी भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार परिवारले शव बुझेपछि अन्तिम संस्कारको प्रक्रिया अघि बढाइएको हो।

यसअघि गणेश नेपालीका परिवारले घटनाको निष्पक्ष छानबिनको माग गर्दै ज्यानसम्बन्धी कसुरअन्तर्गत प्रहरी वृत्त कालिमाटीमा जाहेरी दर्ता गराएका थिए। जाहेरी दर्तासँगै प्रहरीले घटनाको औपचारिक अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रहरीका अनुसार हालसम्म दर्ता भएको जाहेरीमा कसैलाई पनि प्रतिवादीका रूपमा किटान गरिएको छैन। अनुसन्धानबाट प्राप्त प्रमाण र तथ्यका आधारमा आवश्यक व्यक्तिको पहिचान गरी कानुनी प्रक्रिया अघि बढाइने एसपी भट्टराईले बताए।