काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
बुधबार बिहान कांग्रेसका मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका हुन् ।
राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत विकासमन्त्री विजय बुढा रहेका छन् ।
बुधबार बिहान बसेको कर्णाली सरकारको मन्त्रिपरिषद् बैठकमा कांग्रेसका कुनै पनि मन्त्री सहभागी भएनन् । अर्थमन्त्री शाह विदेश भ्रमणमा रहेको र ऊर्जामन्त्री विजय बुढा पनि बैठकमा उपस्थित नभएको बताइएको छ ।
मुख्यमन्त्री कार्यालय पुगेका वनमन्त्री अधिकारी र सामाजिक विकासमन्त्री भण्डारी मन्त्रिपरिषद् बैठकमा सहभागी नभई राजीनामा बुझाएर फर्किएका थिए ।
कर्णालीमा नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकार रहेको छ । एमालेबाट मुख्यमन्त्रीसहित दुई मन्त्री र एक राज्यमन्त्री सरकारमा छन् । यसअघि एमाले र कांग्रेसबीच आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएको थियो । तर उक्त सहमति कार्यान्वयन नभएको भन्दै कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएको बताएका छन् ।




