२०८३ श्रावण १०

कुवेत र बहराइनले इरानी हवाई आक्रमण विफल पारेको दाबी

काठमाडौँ । कुवेत र बहराइनले बुधबार इरानबाट भएका हवाई आक्रमणका प्रयासलाई आफ्नो प्रतिरक्षा प्रणालीमार्फत निष्क्रिय बनाएको बताएका छन् ।

इरान र अमेरिकाबीच होर्मुज जलसन्धिलाई लिएर सैन्य तनाव बढिरहेका बेला यी घटनाहरू भएका हुन् ।

कुवेती सेनाले इरानबाट आएका ड्रोनहरूलाई आफ्नो हवाई सुरक्षा प्रणालीले पहिचान गरी अवरोध गरेको जनाएको छ । सेनाले उक्त घटनालाई इरानको आक्रामक कदमको परिणाम भन्दै आलोचना गरेको छ ।

यस्तै, बहराइनको सेनाले पनि इरानतर्फबाट भएका विभिन्न हवाई आक्रमणका प्रयासलाई सफलतापूर्वक रोकिएको र नष्ट गरिएको दाबी गरेको छ ।

यसअघि बुधबार बिहान बहराइनको गृह मन्त्रालयले सम्भावित क्षेप्यास्त्र तथा हवाई आक्रमणको संकेत दिने चेतावनी साइरन बजाउँदै नागरिक तथा त्यहाँ रहेका व्यक्तिहरूलाई संयम अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।

यसैबीच, इरानको सरकारी सञ्चारमाध्यमले अमेरिकी सेनाले इरानमाथि गरेको आक्रमणको जवाफस्वरूप कुवेतस्थित अमेरिकी सैन्य संरचना र बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक बेडालाई लक्षित गरी छुट्टाछुट्टै कारबाही गरिएको दाबी गरेको छ ।

Read More

काठमाडौं उपत्यकाका अव्यवस्थित तार हटाउन समयसीमासहित कार्ययोजना बनाउन निर्देशन

काठमाडौं । काठमाडौं उपत्यकाका सडकका पोलमा लामो समयदेखि अव्यवस्थित रूपमा रहेका तथा प्रयोगमा नरहेका इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार हटाउन सरकारले सम्बन्धित निकायलाई समयसीमासहितको कार्ययोजना तयार गर्न निर्देशन दिएको छ ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा ऊर्जा मन्त्रालयमा बसेको उच्चस्तरीय अन्तरनिकाय बैठकले तार व्यवस्थापनका लागि एकीकृत योजना बनाएर अघि बढ्ने निर्णय गरेको हो ।

बैठकले नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, एनसेल तथा इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पानलाई संयुक्त कार्ययोजना तयार गरी पहिलो चरणमा उपत्यकाका छ स्थानका अव्यवस्थित र प्रयोगविहीन तार हटाउने काम साउनको दोस्रो साताभित्र सम्पन्न गर्न निर्देशन दिएको छ ।

तार व्यवस्थापनको नेतृत्वदायी तथा नियामकीय जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले लिने र नेपाल विद्युत् प्राधिकरणले आवश्यक सहजीकरण गर्ने निर्णय गरिएको छ । साथै, सबै सेवा प्रदायकले आफ्ना तारमा स्पष्ट पहिचान खुल्ने ट्याग राख्नुपर्ने र सम्बन्धित निकायबीच नियमित समन्वय तथा प्रगति समीक्षा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अव्यवस्थित तारका कारण सुरक्षा जोखिम बढ्नुका साथै सहरको सौन्दर्यमा असर परेको भन्दै पहिलो चरणमा त्रिपुरेश्वर–कालिमाटी–कलङ्की, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी–टाउन प्लानिङ–गोंगबु, कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल क्षेत्रमा रहेका तार व्यवस्थापन गर्ने निर्णय भएको छ ।

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले जेठ २८ गते सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र तार व्यवस्थापन गर्न निर्देशन दिएको थियो । तर, अपेक्षित प्रगति नभएपछि पुनः उच्चस्तरीय छलफल गरी कार्यान्वयनलाई तीव्रता दिने निर्णय गरिएको हो ।

बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. तिमिल्सिनाले अव्यवस्थित तारको समस्या सबै सरोकारवाला निकायको समन्वय अभावका कारण सिर्जना भएको भन्दै अब समाधानमा केन्द्रित भएर काम गर्नुपर्ने बताए ।

उनले प्रयोगविहीन केबल तत्काल हटाउन निर्देशन दिँदै आवश्यक सहयोग वा समन्वयसम्बन्धी समस्या भए मन्त्रालयलाई जानकारी गराउन सम्बन्धित निकायलाई आग्रह गरे । तार राख्ने सेवा प्रदायककै त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी हुने उल्लेख गर्दै उनले नागरिकले छिटो परिणाम चाहेको बताए ।

सञ्चारमन्त्रीले नेपाल दूरसञ्चार प्राधिकरणले प्रभावकारी नियमन गर्दै कुन क्षेत्रमा कहिले काम गर्ने भन्ने स्पष्ट समयसीमासहितको कार्ययोजना तयार गर्नुपर्नेमा जोड दिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पनि समस्या समाधानका लागि सबै निकायबीच सहकार्य आवश्यक रहेको बताए । उनले कसैलाई अप्ठ्यारो पार्ने नभई दीर्घकालीन समाधान खोज्ने उद्देश्यले सरकार अघि बढेको उल्लेख गरे ।

बैठकमा नेपाल विद्युत् प्राधिकरणले धेरै स्थानमा आफ्ना विद्युत् तार व्यवस्थापन गरिसकेको भए पनि विभिन्न सेवा प्रदायकका तार अझै पोलमा रहेको जानकारी गराएको थियो । ती तारको स्वामित्व पहिचान गर्न कठिनाइ भइरहेको, कतिपय सेवा प्रदायकले पोल प्रयोगबापतको शुल्क नियमित नतिरेको तथा नयाँ केबल जडान गर्दा पुराना तार नहटाउँदा समस्या थपिएको प्राधिकरणले जनाएको छ ।

Read More

सांसदहरूले उठाए सुकुमवासी समस्या, महँगी र सुशासनका विषय

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सुकुमवासी समस्या समाधान, बढ्दो महँगी नियन्त्रण, सुशासन कायम तथा अर्थतन्त्र सुधारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न, महँगी नियन्त्रण गर्न र कमजोर अवस्थामा रहेको अर्थतन्त्रलाई सुधार गर्दै नागरिकमा भरोसा जगाउने गरी काम गर्न सरकारलाई आग्रह गरिन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सांसद गङ्गादेवी श्रेष्ठले नेपाल–भारत सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने धारणा राखिन् ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले राजनीतिक आरोप–प्रत्यारोपभन्दा माथि उठेर मुलुकको समृद्धि र जनअपेक्षा पूरा गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताए ।

श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले नागरिकको सुरक्षा र कानुनी शासन कायम गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराइन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहीर अलि भाटले प्रतिनिधिसभाको कामकारबाही प्रभावकारी बनाउन र जारी गतिरोध अन्त्य गर्न सभामुखले नेतृत्वदायी भूमिका खेल्नुपर्ने सुझाव दिए ।

यसअघि बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले आ–आफ्नो स्थानमा उभिएर विरोध जनाएका थिए ।

Read More

पर्यटन प्रवर्द्धनका लागि द्रुत गतिमा काम भइरहेको छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका लागि सरकारले द्रुत गतिमा काम गरिरहेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल सङ्घ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले पर्यटन क्षेत्रको विकासका लागि भइरहेका कामबारे जानकारी दिँदै होटल व्यवसायीहरूलाई चिन्ता नगर्न आग्रह गरे ।

प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानुनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक–निजी साझेदारी (पिपिपी) ढाँचामा गर्न सकिने सहकार्यका विषयमा अध्ययन गर्न आग्रह गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको उपस्थितिमा भएको छलफलमा हानका पदाधिकारीहरूले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराए ।

हाल वार्षिक करिब १२ लाख पर्यटक मात्र नेपाल भित्रिरहेको उल्लेख गर्दै व्यवसायीहरूले पर्यटक आगमन बढेमा आन्तरिक रोजगारी सिर्जना हुने र नेपाली युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न होटल उद्योग प्रभावकारी माध्यम बन्न सक्ने बताए ।

व्यवसायीहरूले होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत दिन माग गरेका छन् । साथै, साना तथा मझौला होटलका लागि २५ शय्यासम्मको सङ्क्षिप्त वातावरणीय मूल्याङ्कन अध्ययनको व्यवस्था अव्यावहारिक भएको भन्दै त्यसलाई ५० शय्यासम्म कायम गर्न आग्रह गरेका छन् ।

उनीहरूले पोखरा र भैरहवा विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन तथा नेपाल वायुसेवा निगमको सेवा सुधार गर्न पनि अनुरोध गरे ।

यसैगरी, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा रहेको ‘ट्रेडमार्क’ प्रयोगको ‘रोयल्टी’ सम्बन्धी व्यवस्था संशोधन गरी आपसी समझदारीअनुसार मूल्य निर्धारण गर्ने व्यवस्था मिलाउन र होटल व्यवसायसँग सम्बन्धित अन्य कानुन संशोधन तथा पुनरावलोकन गर्न पनि माग गरेका छन् ।

छलफलमा हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्यद्वय जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा सचिवालय प्रमुख टेकबहादुर महत सहभागी थिए ।

Read More

६ लाख रुपैयाँ घुससहित इलामका इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौँ । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत एक इन्जिनियरलाई सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रिया सहज बनाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरीका आधारमा कारबाही गरिएको हो ।

अख्तियारको टंगालस्थित केन्द्रीय कार्यालय र इटहरी कार्यालयको संयुक्त टोलीले बुधबार इन्जिनियर (छैटौँ तह) डिल्ली राज खड्कालाई नियन्त्रणमा लिएको हो ।

खड्कालाई दमक नगरपालिका–१ स्थित एक खाजा घरबाट सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुसरिसवत लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

आयोगका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Read More

नेप्से १४ अंकले बढ्यो, कारोबार रकम घट्यो

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ अंकले बढेर २,५९०.२९ विन्दुमा पुगेको छ।

अघिल्लो दिन मंगलबार नेप्से ६.११ अंकले बढेर २,५७६.२९ विन्दुमा पुगेको थियो भने सोमबार ३०.६० अंकले घटेर २,५७०.१८ विन्दुमा कायम भएको थियो।

नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ३६२ वटा कम्पनीका ८४ लाख ७३ हजार १६ कित्ता सेयर ४ अर्ब १७ करोड ३ लाख ९८ हजार रुपैयाँ बराबरमा कारोबार भएका छन्। मंगलबार ८ अर्ब ४१ करोड र सोमबार ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

बजार बढे पनि कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेन। कारोबार रकमका आधारमा हिमालयन बैंक डिबेन्चर २०८३ शीर्ष स्थानमा रह्यो, जसको करिब ४४ करोड रुपैयाँ बराबरको कारोबार भयो।

बुधबार कारोबार भएका १९५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६० वटाको घटेको छ। १९ वटा कम्पनीको मूल्य स्थिर रह्यो। इन्भेस्टमेन्ट समूहको उपसूचकबाहेक अन्य सबै समूहका उपसूचक सकारात्मक देखिएका छन्।

Read More

प्रि–आईपीओका अवैध गतिविधिमा शून्य सहनशीलता अपनाउँछौं : सेबोन अध्यक्ष

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले प्रि–आईपीओका नाममा हुने अवैध गतिविधि नियन्त्रण गर्न शून्य सहनशीलताको नीति अपनाइने बताएका छन्।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बुधबार अध्यक्ष भट्टले विगतका विषयभन्दा आगामी दिनमा बोर्डभित्र वा बाहिर हुने कुनै पनि गलत गतिविधिमा कडाइ गरिने बताए।

उनले आईपीओलगायत धितोपत्रसम्बन्धी सबै प्रक्रियालाई पारदर्शी प्रणालीमार्फत अघि बढाइने प्रतिबद्धता व्यक्त गरे। आगामी वर्षदेखि निरीक्षण, सुपरीवेक्षण, मापदण्ड, रिपोर्टिङ प्रणाली, पूर्वाधार र सूचना प्रविधि प्रणालीमा कडा निगरानी गरिने उनको भनाइ थियो।

बैठकमा सांसदहरूले शेयर बजारमा हुने अस्वाभाविक चलखेल रोक्न तथा लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न बोर्डको भूमिका प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए।

समिति सदस्यहरूले प्रि–आईपीओमा मूल्य निर्धारण प्रक्रिया, संकलित रकमको उपयोग, कम्पनीहरूको वित्तीय विवरण र संस्थागत सुशासनका विषयमा प्रश्न उठाएका थिए।

सांसदहरूले कम्पनीहरूले आईपीओअघि राम्रो वित्तीय अवस्था देखाउने तर पछि कमजोर प्रदर्शन गर्ने प्रवृत्तिमाथि निगरानी बढाउनुपर्ने तथा सर्वसाधारण लगानीकर्ताको हित संरक्षणमा बोर्ड थप सक्रिय हुनुपर्ने सुझाव दिएका थिए।

Read More

बजेट विवादपछि सुदूरपश्चिमका एमालेका चार मन्त्री बर्खास्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बजेट विवाद चर्किएपछि मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

बजेट पुनर्लेखनको माग गर्दै एमाले सांसदहरूले खर्च कटौती प्रस्ताव दर्ता गरेपछि सत्तारुढ नेपाली कांग्रेस र एमालेबीच विवाद बढेको थियो। बुधबार मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई बोलाएर राजीनामा दिन वा बजेटको समर्थन गर्न विकल्प दिएका थिए। छलफल निष्कर्षविहीन भएपछि उनले एमालेबाट सरकारमा रहेका चार जनालाई हटाएका हुन्।

बर्खास्त हुनेमा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की र भौतिक पूर्वाधार राज्यमन्त्री निर्मला साउद रहेका छन्।

एमालेका मन्त्री हटेसँगै सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस–एमालेबीच २५ महिनादेखि कायम रहेको गठबन्धन संकटमा परेको छ।

असार १ गते मध्यरातमा प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति एमालेले असन्तुष्टि जनाउँदै खर्च कटौती प्रस्ताव दर्ता गरेको थियो। ३७ अर्ब ७० करोड रुपैयाँको उक्त बजेट विवाद समाधानका लागि केन्द्रबाट कांग्रेस महामन्त्री प्रदीप पौडेल र एमाले लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेलसहित नेताहरूले छलफल गरे पनि सहमति जुट्न सकेन।

मुख्यमन्त्री शाह सोमबार काठमाडौं पुगेर शीर्ष नेताहरूसँग छलफल गरी बुधबार धनगढी फर्किएका थिए। केन्द्रस्तरको छलफलबाट समेत निकास ननिस्किएपछि एमालेका मन्त्री हटाउने निर्णय गरिएको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ।

यसअघि कांग्रेसभित्रको विवाद समाधान गर्न मुख्यमन्त्री शाहले मन्त्री फेरबदल गरेका थिए। उनी २०८१ साउन २० गते एमालेको समर्थनमा दोस्रो पटक मुख्यमन्त्री बनेका हुन्।

Read More

सरकारले आगामी वर्ष संसद्मा पेस हुने १६६ विधेयकको सूची पठायो

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ मा निर्माण गरिने कानूनको मस्यौदा सूची र वार्षिक विधायन कार्यतालिका सङ्घीय संसद्मा पठाएको छ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बुधबार सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई भेटेर विधेयकको सूची र कार्यतालिका हस्तान्तरण गरेकी हुन्।

विधायन ऐन, २०८१ अनुसार आगामी आर्थिक वर्षमा संसद्मा पेस गरिने विधेयकको प्राथमिकता निर्धारण गरी कानून मन्त्रालयले असार मसान्तभित्र संसद्मा पठाउनुपर्ने व्यवस्था छ।

मन्त्रालयका अनुसार आगामी वर्ष संसद्मा १६६ वटा विधेयक पेस गर्ने तयारी गरिएको छ। तीमध्ये ९७ वटा नयाँ र ६९ वटा संशोधन विधेयक रहेका छन्।

विधेयकलाई प्राथमिकताका आधारमा वर्गीकरण गर्दा पहिलो प्राथमिकतामा ६४, दोस्रोमा ४५ र तेस्रोमा ५७ वटा विधेयक रहेका छन्।

मन्त्री गौतमले सुशासन, सहज सेवा प्रवाह र नीतिगत सुधारका लागि कानून निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन्। उनले सबै मन्त्रालयसँग छलफल गरी विधेयकको प्राथमिकता निर्धारण गरेर संसद्मा पठाइएको जानकारी दिइन्।

Read More

जापानलाई हराउँदै नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । नेपालले एसीसी महिला यू–१९ प्रिमियर कपको क्वार्टरफाइनलमा जापानलाई ९ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। यससँगै नेपाल आगामी यू–१९ महिला एसिया कपका लागि पनि छनोट भएको छ।

जितका लागि जापानले दिएको ८७ रनको लक्ष्य नेपालले ११.२ ओभरमै १ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालकी ओपनर सावित्री धामीले अविजित ४१ रनको उत्कृष्ट इनिङ्स खेलिन्। कप्तान सोनी पाख्रिनले अविजित १८ रन जोड्दै टोलीलाई सहज जित दिलाइन्। अर्की ओपनर साना प्रवीणले १८ रनको योगदान दिइन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापान नेपाली बलरहरूसामु टिक्न सकेन। निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै जापान ८६ रनमै सीमित भयो। जापानका लागि कप्तान बियान्का सिनोले अविजित ३८ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि क्रिस्मा गुरुङ र रिया शर्माले समान २–२ विकेट लिए। किफायती बलिङ र उत्कृष्ट फिल्डिङका कारण नेपालले जापानलाई सानो योगफलमा रोक्न सफल भयो।

समूह चरणका तीनै खेल जित्दै समूह विजेता बनेको नेपालले क्वार्टरफाइनलमा पनि प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको छ। अब नेपालले सेमिफाइनलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनलमा इन्डोनेसिया र थाइल्यान्ड आमनेसामने हुनेछन्।

सेमिफाइनल पुगेका नेपाल, यूएई, इन्डोनेसिया र थाइल्यान्डले आगामी यू–१९ महिला एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेका छन्।

Read More