काठमाडौं । जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका एक कैदीको सुतेकै अवस्थामा मृत्यु भएको छ।
सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका साकेला गाउँपालिका–४ मात्तिम पारुङका २३ वर्षीय निसान राईको मृत्यु भएको कारागारका सूचना अधिकारी कपिन्द्र कठायतले जानकारी दिनुभयो।
उहाँका अनुसार असार ३० गते बेलुकाको खाना खाएर सुतेका राई मध्यराति बेहोस अवस्थामा भेटिएका थिए। त्यसपछि तत्काल जिल्ला अस्पताल खोटाङ लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
जिल्ला अस्पतालका डा. पुष्कल राईका अनुसार अस्पताल ल्याइपुर्याउँदा नै उनको मृत्यु भइसकेको थियो। “मृत्युको कारण खुलेको छैन। शव परीक्षणको प्रतिवेदन आएपछि मात्रै वास्तविक कारण थाहा हुन्छ,” उहाँले भन्नुभयो।
मृतक राई सवारी ज्यान मुद्दामा दुई वर्षको कैद सजाय भुक्तान गरिरहेका थिए। जरिवाना बुझाएको अवस्थामा उनी आगामी साउन ११ गते जेलमुक्त हुने अवस्थामा रहेको बताइएको छ।




