काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अमेरिकासँग सम्झौता गर्न पुनः कडा चेतावनी दिएका छन्। उनले सम्झौता नगरे इरानले गम्भीर परिणाम भोग्नुपर्ने र देशसँग “केही पनि बाँकी नरहने” दाबी गरेका छन्।
फक्स न्युजसँग मंगलबार प्रसारित अन्तर्वार्तामा ट्रम्पले इरानलाई लक्षित गर्दै भने, “इरानले सम्झौता गर्नुपर्छ, अन्यथा त्यहाँ कोही पनि बाँकी रहने छैन।”
उनले अमेरिकी नागरिकको सुरक्षाप्रति आफ्नो प्रशासन अत्यन्त सावधान रहेको दाबी गर्दै इरानले समयमै सम्झौता नगरे गम्भीर परिणाम सामना गर्नुपर्ने चेतावनी दोहोर्याए। ट्रम्पका अनुसार यही सन्देश उनका प्रतिनिधि र तेहरानबीच भएको पछिल्लो संवादमार्फत पनि इरानलाई दिइएको थियो। उनले उक्त संवाद अन्तर्वार्ता दिनुभन्दा करिब एक घण्टाअघि भएको बताएका छन्।
इरानले सम्झौता गर्नेमा आफू विश्वस्त भए–नभएको प्रश्नमा ट्रम्पले भने, “उनीहरूले सम्झौता गर्नैपर्छ। तर उनीहरूले गर्छन् वा गर्दैनन् भन्ने कुरा भने मलाई थाहा छैन।”




