काठमाडौं । नेपाल टेलिकमले मुगु र बाजुराका दुर्गम हिमाली बस्तीमा फोरजी सेवा विस्तार गरेको छ। कम्पनीले मुगुको सोरु गाउँपालिका–६ सोरुकोट तथा बाजुराको हिमाली गाउँपालिका–१ बिच्छ्याको नेटा र वडा नम्बर ५ कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
सोरुकोटमा आयोजित सेवा शुभारम्भ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, नेपाल टेलिकमका प्राविधिक कर्मचारी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले दुर्गम क्षेत्रमा आधुनिक दूरसञ्चार सेवा विस्तार हुनु स्थानीय नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको बताए। उनीहरूले सेवाको दिगो सञ्चालन, संरक्षण तथा आवश्यकताअनुसार क्षमता विस्तारका लागि गाउँपालिकाले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
नेपाल टेलिकमका अनुसार बिच्छ्याको नेटामा जडान गरिएको फोरजी टावरबाट कोट, नेटा, बाम, बौडी, यौना, नातीखोलालगायत गुम्बासम्म तथा बाजुराबाट रानिसैन पुग्ने पदमार्गसम्म सेवा पुगेको छ। त्यस्तै, कुवाडी खोलाको सङ्गम आसपासका गाउँ तथा हुम्लाको ताँजाकोट गाउँपालिका–२ जाने मार्गमा पनि फोरजी सेवाको पहुँच विस्तार भएको कम्पनीले जनाएको छ।
फोरजी सेवा सञ्चालनमा आएपछि स्थानीयवासीले उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भ्वाइस सेवा तथा एसएमएस सेवा सहज रूपमा उपयोग गर्न सक्नेछन्। यसबाट सूचना, शिक्षा, स्वास्थ्य र सरकारी सेवामा नागरिकको पहुँच बढ्नुका साथै स्थानीय आर्थिक तथा सामाजिक विकासमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
नेपाल टेलिकमले ‘राष्ट्रको सञ्चार’ भन्ने आफ्नो प्रतिबद्धताअनुरूप देशका सुगमदेखि अतिदुर्गम क्षेत्रसम्म अत्याधुनिक दूरसञ्चार सेवा तथा सूचना प्रविधिको पहुँच विस्तार गर्ने अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ।




