काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा बदली र वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानमा रहेकाले हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली तथा तराईका अधिकांश भूभागमा आंशिक बदली रहनेछ।
कोशी प्रदेश
हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मधेस प्रदेश
तराई क्षेत्रमा आंशिक बदली रहनेछ। एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।
बागमती प्रदेश
हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ र केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। तराईका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्नेछ।
गण्डकी प्रदेश
प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदलीसँगै केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।
लुम्बिनी प्रदेश
पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना छ।
कर्णाली प्रदेश
हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
सुदूरपश्चिम प्रदेश
हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ र केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्छ। हाल प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। तराईका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना भएका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।




