काठमाडौं । नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर कर्प्स नेपाल (एचसिसीएन) को डिनमा सर्वसम्मत निर्वाचित भएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष वैद्यलाई बिहीबार सम्पन्न एचसिसीएनको साधारणसभाले नयाँ डिन चयन गरेको हो। यसअघि नेपालका लागि बुल्गेरियाका महावाणिज्यदूत भोला थापा डिन थिए भने पासाङ दावा शेर्पा भाइस डिनमा चयन भएका छन्।
नवनियुक्त डिन वैद्यले आफ्नो कार्यकालमा वैदेशिक लगानी आकर्षित गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र आर्थिक कूटनीतिलाई सुदृढ बनाउने विषयलाई प्राथमिकता दिने बताए।
उनले एचसिसीएनले प्रतिनिधित्व गर्ने ६४ भन्दा बढी मुलुकसँग नेपालको आर्थिक, व्यापारिक र प्राविधिक सहकार्य विस्तार गर्न भूमिका खेल्ने बताए। अवैतनिक वाणिज्यदूतहरूले सरकार, निजी क्षेत्र, लगानीकर्ता र अन्तर्राष्ट्रिय समुदायबीच सहकार्यको पुलका रूपमा काम गर्न सक्ने उनको भनाइ थियो।
कार्यक्रममा परराष्ट्र मामिला विश्लेषक तथा नेपाली सेनाका पूर्वमेजर जनरल बिनोज बस्न्यातले बदलिँदो विश्व परिवेशमा नेपालले आर्थिक कूटनीति, रणनीतिक विदेश नीति र सक्रिय कूटनीतिक पहलमार्फत राष्ट्रिय हित प्रवर्द्धन गर्नुपर्ने बताए।
निवर्तमान डिन भोला थापाले एचसिसीएनलाई आर्थिक कूटनीतिमा सरकारको रणनीतिक साझेदार बनाउने उद्देश्यसहित परराष्ट्र मन्त्रालयसमक्ष समझदारीपत्रको मस्यौदा पेस गरिएको जानकारी दिए।




