२०८३ श्रावण १५

आज राष्ट्रियसभाको बैठक बस्दै, गृहमन्त्री र शिक्षामन्त्रीले दिनेछन् मौखिक प्रश्नको जवाफ

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे बस्ने भएको छ। बैठकमा गृहमन्त्री सुधन गुरुङ र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आफ्ना मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

बैठकमा राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

यस्तै, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।

यसैबीच, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज अपराह्न २ः०० बजे बस्ने भएको छ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल गरिनेछ।

समितिको छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई आमन्त्रण गरिएको सचिवालयले जनाएको छ।