२०८३ श्रावण २१

फायरिङ अभ्यासमा ग्रिनेड विस्फोट, दुई सैनिक घाइते

काठमाडौं। कैलालीको गोदावरी नगरपालिका–४ स्थित बन्देवी फायरिङ रेञ्जमा नेपाली सेनाको फायरिङ अभ्यासका क्रममा प्लास्टिक ह्याण्ड ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएका छन्।

प्रहरीका अनुसार आज बिहान करिब ८ः१० बजे देवदल गण, आर्मी ब्यारेकको सैन्य तालिमअन्तर्गत फायरिङ अभ्यास भइरहेका बेला प्लास्टिक ह्याण्ड ग्रिनेड विस्फोट भएको हो।

विस्फोटमा सहायक सेनानी ३० वर्षीय विक्रम कार्कीको दाहिने हात र अनुहारमा चोट लागेको छ भने सैनिक २० वर्षीय रञ्जित थारुको दाहिने हातमा चोट लागेको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरा महराले जानकारी दिए।

घाइते दुवै सैनिकलाई घटनालगत्तै उपचारका लागि नेपाली सेनाको आर्मी अस्पताल बोराडाँडी लगिएको प्रहरीले जनाएको छ। उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ।