काठमाडौं। निर्माण सुरु भएको करिब सात वर्षपछि नारायणगढ–बुटवल सडकखण्डमा यात्रा सहज बन्दै गएको छ। लामो समयसम्म यात्रुलाई सास्ती दिएको यो सडकमा अहिले सामान्य अवस्थामा नारायणगढबाट बुटवल पुग्न करिब दुई घण्टा मात्रै लाग्ने गरेको यात्रुहरूले बताएका छन्।
विगतमा दाउन्ने क्षेत्रमा हुने जामका कारण यात्रुले घण्टौँसम्म सडकमा रोकिनुपर्ने अवस्था थियो। वर्षा र चाडपर्वका समयमा यो सडक हुँदै यात्रा गर्नेहरूलाई निकै समस्या हुने गरेको थियो। कतिपय यात्रुले रातभर सडकमै बिताउनुपरेको अनुभव समेत सुनाउँदै आएका थिए।
रुपन्देहीका उद्योगी विमल कालाखेतीले पछिल्लो पटक बुटवलबाट नारायणगढ पुग्न करिब एक घण्टा ३० मिनेट मात्रै लागेको बताए। सडक सहज र अवरोधरहित भएकाले यात्रा निकै सहज भएको उनको भनाइ छ।
त्यस्तै तिलोत्तमा नगरपालिका–४ का उद्योगी प्रकाश आचार्यले निजी सवारीमा नारायणगढबाट एक घण्टा ५० मिनेटमै घर पुगेको बताए। विगतमा दाउन्ने क्षेत्रमा लामो जामका कारण १६ घण्टासम्म यात्रा गर्नुपरेको स्मरण गर्दै उनले अहिले सडकको अवस्था निकै सुधार भएको बताए।
सञ्चारकर्मी प्रकाश ज्ञवालीले पनि विगतमा १२ घण्टाभन्दा बढी समय लाग्ने सडक अहिले करिब दुई घण्टामै पार गर्न सकिएको बताए। उनले विगतका वर्षमा परिवारसहित यात्रा गर्दा लामो समय सडकमा बिताउनुपरेको अनुभव सुनाए।
यातायात व्यवसायीहरूका अनुसार पहिले यो सडकमा सवारी सञ्चालन गर्दा नियमित मर्मत र समस्या समाधानमै समय खर्चिनुपर्ने अवस्था थियो। चौतारी यातायात सेवा प्रालिका अध्यक्ष भुवन बरालले अहिले यात्रु चढाउने र झार्ने क्रममै करिब तीन घण्टामा यात्रा पूरा गर्न सकिने अवस्था आएको बताए।
नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका इञ्जिनियर शिव खनालका अनुसार आयोजनाको करिब ९२ प्रतिशत काम सम्पन्न भएको छ। सडक सुरक्षा र केही स्थानमा नाली निर्माण तथा जोड्ने काम मात्रै बाँकी रहेको उनले जानकारी दिए।
कुल ११३.३५ किलोमिटर लामो यो सडकलाई दुई खण्डमा विभाजन गरी विस्तार गरिएको हो। नारायणगढ–दाउन्ने ६५ किलोमिटर खण्डलाई पूर्वी खण्ड र दाउन्ने–बुटवल ४९ किलोमिटर खण्डलाई पश्चिमी खण्डका रूपमा निर्माण भइरहेको छ।
करिब रु १६.९९ अर्ब लागतमा निर्माण भइरहेको आयोजनामा एसियाली विकास बैंकको ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको छ। चिनियाँ सरकारी कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको यो आयोजना विसं २०७५ चैत ८ गतेदेखि सुरु भएको थियो।
नारायणगढ–बुटवल सडकलाई दुई लेनबाट चार लेनमा विस्तार गरिएको हो। बजार क्षेत्रका करिब २८ किलोमिटर सडकलाई छ लेन बनाइएको छ भने अन्य क्षेत्रमा चार लेनको संरचना तयार गरिएको छ।



