काठमाडौं। चितवनबाट २० किलो चरेससहित दुई जना पक्राउ परेका छन्। प्रहरीले इच्छाकामना गाउँपालिका–५ मा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १ बजे मकवानपुरको थाहा नगरपालिका–११ का ४१ वर्षीय मोहन गोले र ३९ वर्षीय भीमबहादुर स्याङताङलाई शंकाका आधारमा जाँच गर्दा उनीहरूले बोकेको झोलाबाट चरेसजस्तो देखिने पदार्थ बरामद भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार झोलाभित्र पहेँलो टेपले बेरेर राखिएका २० वटा पोका फेला परेको थियो। नापतौल गर्दा उक्त पदार्थ १०/१० किलो गरी जम्मा २० किलो रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएको पदार्थसहित पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



