२०८३ श्रावण २१

मतदाता नामावली अद्यावधिकमा सहयोग गर्न स्थानीय तहलाई आग्रह

काठमाडौं। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा सहयोग गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ।

मन्त्रालयले बुधबार गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न अनुरोध गरेको हो।

निर्वाचन आयोगले साउन १५ गतेको निर्णयअनुसार वडा तहबाटै मतदाता नामावली अद्यावधिक गर्ने तयारी गरेको छ। अद्यावधिकका क्रममा स्थानीय पञ्जिकाधिकारीसँग समन्वय गरी विवाह, बसाइँसराइ तथा मृत्यु भएका मतदाताको विवरण समायोजन गरिनेछ। यो प्रक्रिया आगामी भदौ १५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यसैबीच, मन्त्रालयले निजी फलफूल नर्सरी सुदृढीकरण कार्यक्रमका लागि पनि स्थानीय तहलाई सहजीकरण गर्न आग्रह गरेको छ। राष्ट्रिय फलफूल विकास आयोजनामार्फत कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा नर्सरीको क्षमता विस्तार र गुणस्तर सुधार कार्यक्रम सञ्चालन गरिँदैछ।

कार्यक्रममा सहभागी हुने नर्सरीधनीले ५० प्रतिशतसम्म अनुदान प्राप्त गर्न सक्नेछन्। इच्छुक नर्सरीधनीले तोकिएका कागजातसहित एक महिनाभित्र केन्द्रीय आयोजना व्यवस्थापन इकाइ, कीर्तिपुरमा प्रस्ताव पेस गर्नुपर्नेछ।

त्यसैगरी मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रमलाई प्रभावकारी बनाउन पनि स्थानीय तहलाई समन्वय र व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ। खोप छुटेका बालबालिकाको पहिचान, पहुँच विस्तार तथा तराई र भित्री मधेशका जिल्लामा आवश्यकताअनुसार थप खोप केन्द्र सञ्चालन गर्न भनिएको छ।

मन्त्रालयले समुदायको सहज पहुँच हुने स्थानमा खोप सेवा सञ्चालन गर्न, भीडभाड हुने क्षेत्रमा थप व्यवस्था मिलाउन र नियमित खोप कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहलाई अनुरोध गरेको छ।