काठमाडौं। आज सङ्घीय संसद्अन्तर्गतका पाँच वटा संसदीय समितिको बैठक बस्दैछ। प्राप्त सूचनाअनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्न लागेको हो।
अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा उपसमितिले तयार पारेको प्रतिवेदन प्रस्तुत गरी त्यस विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बिहान ११ बजे बस्दैछ। बैठकमा मुस्लिम आयोगको काम कारबाही तथा प्रगतिका विषयमा आयोगका पदाधिकारीसँग छलफल गरिनेछ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुने तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पेस गरिने कार्यसूची रहेको छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वर्तमान अवस्था, समसामयिक विषय, चुनौती र आगामी कार्ययोजनाबारे छलफल गरिनेछ।
यसैगरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक दिउँसो २ः३० बजे बस्नेछ। बैठकमा मुलुकको वर्तमान अवस्था र समसामयिक विषयमा छलफल हुने जनाइएको छ।




