काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले ८०२ घरमा खाना पकाउने ग्यासका सिलिण्डर पुर्याउन सहजीकरण गरेको छ। असहाय, अशक्त, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक तथा विद्यार्थीलाई प्राथमिकतामा राखेर ग्यास घरमै पुर्याइएको हो।
गत एक सातामा प्रशासनको टोल फ्रि नम्बरमा ग्यास अभाव भएको गुनासो टिपाएका उपभोक्तालाई लक्षित गरी सहजीकरण गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। उनका अनुसार भरतपुरसँगै पूर्वी र पश्चिम चितवनका विभिन्न क्षेत्रमा ग्यास सिलिण्डर वितरण गरिएको छ। ग्यास अभाव भएका आश्रममा समेत आश्रममै सिलिण्डर पुर्याइएको उनले बताए।
उद्योगबाट ग्यास डिपोमा पुगे पनि डिपोबाट सर्वसाधारण उपभोक्तासम्म सहज रूपमा नपुगेको गुनासो आएपछि स्थानीय प्रशासनले ग्यास उद्योगदेखि खुद्रा व्यापारीसम्मको अनुगमन थालेको छ। उद्योगीहरूले पर्याप्त ग्यास आयात तथा वितरण भइरहेको दाबी गरे पनि उपभोक्ताले घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था देखिएपछि उद्योगदेखि वितरण प्रणालीसम्मको अनुगमन गर्न थालिएको अर्यालले बताए।
सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमको नेतृत्वमा प्रहरीसहितको टोलीले बजार अनुगमन गरिरहेको छ। जिल्लामा मासिक करिब एक लाख २० हजार सिलिण्डर ग्यास आवश्यक पर्ने भए पनि हाल दैनिक ६ देखि ७ हजार सिलिण्डर मात्र वितरण भइरहेकाले अभाव देखिएको प्रशासनले जनाएको छ।
चितवनमा हाल साईबाबा, बाबा र नेपाल ग्यास उद्योग सञ्चालनमा छन्। यी उद्योगमार्फत जिल्लाका विभिन्न डिलरमा नियमित रूपमा ग्यास पठाइँदै आएको छ।
बाबा ग्यास उद्योगका सञ्चालक विमल कालाखेतीका अनुसार चितवनमा रहेका उद्योगले चितवनसहित विभिन्न जिल्लामा ग्यास पठाउँदै आएका छन्। भरिएका सिलिण्डरमध्ये करिब आधा चितवनमा र आधा अन्य जिल्लामा पठाउने गरिएको उनले बताए।
उनका अनुसार बुलेटमार्फत ग्यास भर्ने भारतको दुर्गापुरस्थित रिफाइनरीमा समस्या आएपछि अहिले पारादीपबाट ग्यास भर्ने गरिएको छ। दुर्गापुर पुग्न करिब दुई दिन लाग्ने भए पनि पारादीप पुग्न चार दिनसम्म लाग्ने भएकाले आपूर्ति प्रभावित भएको उनको भनाइ छ।
त्यस्तै, ग्यास आपूर्ति गर्दै आएको बरौनी रिफाइनरीबाट समेत कम परिमाणमा ग्यास प्राप्त हुनु र माग बढ्नुले बजारमा ग्यासको अभाव देखिएको कालाखेतीले बताए।



