२०८३ श्रावण २६

५५ भन्दा बढी ब्रान्डसहित नाइमा मोबिलिटी एक्स्पो सुरु

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानिफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ।

एक्स्पोको उद्घाटन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गरेका हुन्। साउन ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा ५५ भन्दा बढी अटोमोबाइल ब्रान्डको सहभागिता रहेको छ भने ४० भन्दा बढी नयाँ मोडल तथा उत्पादन सार्वजनिक गरिने आयोजकले जनाएको छ।

एक्स्पोमा दुईपांग्रे तथा चारपांग्रे सवारीसाधनसँगै कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी समाधान, नयाँ प्रविधि, सेवा र अन्य मोबिलिटीसम्बन्धी उत्पादन प्रदर्शनमा राखिएका छन्।

भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ५१ भन्दा बढी स्टल निर्माण गरिएको छ। एक्स्पोमा हुन्डाई, बीवाईडी, निसान, टाटा, टोयोटा, किया र महिन्द्रालगायत प्रमुख अटोमोबाइल ब्रान्ड सहभागी छन्।

आयोजकका अनुसार यस वर्षको एक्स्पो गत वर्षको तुलनामा थप भव्य र प्रविधिमैत्री बनाइएको छ।

Read More

इरानी धम्कीपछि ट्रम्पलाई गोप्य रूपमा सानो विमानमा बेलायत लगिएको खुलासा

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानबाट हत्याको विश्वसनीय धम्की आएपछि गत महिना टर्कीबाट गोप्य रूपमा सानो सैन्य विमानमार्फत बेलायत लगिएको खुलासा भएको छ।

वासिङ्टन पोस्टका अनुसार जुलाई ८ मा अङ्काराबाट प्रस्थान गर्दा ट्रम्पले पुरानो ‘एयर फोर्स वन’ मा चढेको देखाइएको थियो। तर केही मिनेटमै उनलाई विमानबाट निकालेर विमानस्थलको खानपान सामग्री बोक्ने ट्रकमार्फत सानो सी–३२ए विमानमा पुर्‍याइएको थियो। सो विमानबाट ट्रम्प बेलायत पुगेका थिए।

ट्रम्प पुरानो विमानमै रहेको विश्वासमा सञ्चारमाध्यमका प्रतिनिधि र केही अधिकारीलाई राखिएको थियो। पत्रकारहरूलाई विमानका झ्यालका पर्दा बन्द गर्नसमेत भनिएको थियो। बेलायत पुगेपछि भने ट्रम्प पुनः पुरानो एयर फोर्स वनबाट सार्वजनिक रूपमा बाहिरिएका थिए।

सुरक्षा खतराका कारण ट्रम्पले कतारले उपहार दिएको नयाँ बोइङ ७४७–८ विमानमा टर्कीबाट फर्कनुको सट्टा पुरानो विमान प्रयोग गरेको बताइएको थियो। नयाँ विमानको सुरक्षा क्षमताबारे यसअघि नै प्रश्न उठ्दै आएको थियो।

ह्वाइट हाउसले घटनाबारे सुरक्षाको आवश्यकताअनुसार उच्चस्तरीय सुरक्षा प्रोटोकल अपनाइएको बताउँदै राष्ट्रपतिको सुरक्षाका लागि उपलब्ध सबै साधन प्रयोग भइरहेको जनाएको छ।

ट्रम्पलाई सी–३२ए विमानबाट पुरानो एयर फोर्स वनमा बेलायतमा कसरी पुनः स्थानान्तरण गरिएको थियो भन्ने विवरण भने अझै स्पष्ट छैन।

Read More

नेप्से प्रि–ओपनमै दबाबमा, ११.२७ अंकको गिरावट

काठमाडौँ । मंगलबारको प्रि–ओपन सेसनमा सेयर बजारमा बिक्री दबाब देखिएको छ। यस अवधिमा नेप्से परिसूचक ११.२७ अंकले घटेर २ हजार ६२९.७८ विन्दुमा पुगेको छ।

प्रि–ओपन सेसनमा ६८ वटा कम्पनीका ४ हजार ९९५ कित्ता सेयर कारोबार भएका छन्। यस अवधिमा कुल ३४ लाख ७६ हजार ५४८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कारोबार भएका कम्पनीमध्ये ४९ वटा स्टकको मूल्य घटेको छ। १४ वटा स्टकको मूल्य बढ्दा चार वटा स्टकको मूल्य भने स्थिर रहेको छ।

Read More

अन्नपूर्ण गाउँपालिकाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमाको दायरामा ल्याउने भएको छ।

यसअघि दलित, अपाङ्गता भएका तथा अशक्त नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्दै आएको गाउँपालिकाले अब कार्यक्रम विस्तार गरी सबै नागरिकलाई समेट्न लागेको हो। स्वास्थ्य बिमाका लागि गाउँपालिकाले ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार अन्नपूर्णमा करिब ६ हजार ५०० घरधुरी छन्। सबै नागरिकको स्वास्थ्य बिमाका लागि विनियोजित रकम अपुग भए आवश्यकताअनुसार थप बजेट व्यवस्था गरिने उनले बताए।

स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरिएको भन्दै अध्यक्ष केसीले नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न कार्यक्रम अघि बढाइएको बताए। उनका अनुसार निःशुल्क स्वास्थ्य बिमाले न्यून आय भएका परिवारलाई समयमै उपचार सेवा लिन सहज बनाउनुका साथै उपचारमा लाग्ने आर्थिक भार घटाउनेछ।

गाउँपालिकाले स्वास्थ्य बिमासँगै अन्नपूर्ण आधारभूत अस्पतालको सेवा विस्तार गर्ने तयारीसमेत गरेको छ। अस्पतालमा चिकित्सकको उपलब्धता बढाउनुका साथै स्वास्थ्य परीक्षणका लागि आवश्यक उपकरण थप गर्दै लगिएको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले जानकारी दिए।

स्थानीय नागरिकको स्वास्थ्य उपचारको पहिलो सेवा बिन्दुका रूपमा अस्पताललाई विकास गर्ने गाउँपालिकाको नीति छ। अस्पतालमा उपचार सम्भव नभएका बिरामीलाई थप उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गर्ने व्यवस्था मिलाइएको बरालले बताए।

गाउँपालिकाले सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य बिमासँगै आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने कार्यक्रम अघि बढाएको जनाएको छ।

Read More

प्रतिनिधिसभाको बैठक आज, खानी तथा खनिज पदार्थ विधेयकमा छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्दैछ। बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

संघीय संसद् सचिवालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

प्रस्तावित विधेयकले खानी तथा खनिज पदार्थको अन्वेषण, उत्खनन, व्यवस्थापन तथा नियमनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ। विधेयकमार्फत संघीय संरचनाअनुसार खनिज क्षेत्रसम्बन्धी अधिकार र जिम्मेवारी स्पष्ट पार्ने तथा अवैध उत्खनन र राजस्व चुहावट नियन्त्रण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

Read More

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, १११ जनाको मृत्यु

काठमाडौँ । पश्चिमी कोलम्बियालाई केन्द्रबिन्दु बनाएर सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ। भूकम्पका कारण सयौँ भवनमा क्षति पुगेको छ भने दर्जनौँ संरचना पूर्ण रूपमा भत्किएका छन्। भग्नावशेषमा मानिसहरू फसेको आशंकामा प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ।

कोलम्बियाको स्थानीय समयअनुसार सोमबार बिहान ७ः३४ बजे चोको प्रान्तको सान होसे डेल पाल्मारनजिक भूकम्प गएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले पनि भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड रहेको जनाएको छ। यसको केन्द्रबिन्दु सान होसे डेल पाल्मारबाट करिब ५ किलोमिटर पूर्वतर्फ र जमिनको करिब १०० किलोमिटर गहिराइमा रहेको बताइएको छ।

भूकम्पको सबैभन्दा ठूलो असर पश्चिमी कोलम्बियाका विभिन्न सहरमा परेको छ। देशको प्रमुख कफी उत्पादन क्षेत्रका सहरहरू काली, परेइरा, मानिजालेस तथा क्विब्डोमा भवनहरूमा व्यापक क्षति पुगेको छ। परेइरा क्षेत्रमा मात्रै कम्तीमा ४० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् भने भाये डेल काउका क्षेत्रमा २७ जनाको ज्यान गएको छ। मानिजालेसमा पनि दुई जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ।

भूकम्पका कारण प्रारम्भिक विवरणअनुसार १ हजार ६ सयभन्दा बढी भवनमा क्षति पुगेको छ भने कम्तीमा ६१ वटा भवन पूर्ण रूपमा भत्किएका छन्। प्रभावित क्षेत्रका सडक, विमानस्थल तथा अन्य पूर्वाधारमा समेत क्षति पुगेका कारण उद्धार तथा राहत कार्यमा कठिनाइ भइरहेको छ। विशेषगरी दुर्गम तथा जंगल क्षेत्र रहेको चोको प्रान्तमा क्षतिको पूर्ण विवरण संकलन गर्न कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्।

भूकम्पको केन्द्रबिन्दु रहेको सान होसे डेल पाल्मार आसपासमा पनि घर तथा अन्य संरचनामा क्षति पुगेको छ। यद्यपि, प्रमुख सहरहरूको तुलनामा त्यहाँ मानवीय क्षति कम भएको प्रारम्भिक विवरण छ। भूकम्पपछि केही सडक अवरुद्ध हुनुका साथै सञ्चार सम्पर्कमा समेत समस्या देखिएको बताइएको छ।

भूकम्पको शक्तिशाली धक्का राजधानी बोगोटासहित देशका विभिन्न भागमा महसुस गरिएको थियो। बोगोटामा भवनहरू हल्लिएपछि सर्वसाधारण सुरक्षित स्थानतर्फ निस्किएका थिए। राजधानीमा केही भवनमा सामान्य क्षति देखिए पनि ठूलो मानवीय क्षति भएको विवरण छैन। भूकम्पको असर छिमेकी मुलुक भेनेजुएलाका केही क्षेत्रमा समेत महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भूकम्पपछि कोलम्बिया सरकारले आपत्कालीन अवस्था घोषणा गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारी संयन्त्र परिचालन गरेको छ। प्रभावित क्षेत्रमा ठूलो संख्यामा उद्धारकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालन गरिएको छ। भग्नावशेषमा फसेका मानिसहरूको खोजीका लागि उद्धार टोलीले लगातार काम गरिरहेका छन्।

राष्ट्रपति अबेलार्दो दे ला एस्प्रिएलाले प्रभावित क्षेत्रको अवस्था गम्भीर रहेको भन्दै सरकारका सबै स्रोत उद्धार तथा राहतमा परिचालन गरिने बताएका छन्। प्रभावित परिवारलाई आवास तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि सरकारले जनाएको छ। संयुक्त राज्य अमेरिकाले समेत राहतका लागि १ करोड ५५ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।

अधिकारीहरूले भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम जारी रहेको बताएका छन्। उद्धार तथा खोजी अभियान अघि बढ्दै जाँदा मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो भूकम्प कोलम्बियामा २१औँ शताब्दीमा रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक हो।

Read More

पाँच वर्षदेखि अलपत्र बूढीगङ्गाको १५ शय्याको अस्पताल

काठमाडौँ । बाजुराको बूढीगङ्गा नगरपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल पाँच वर्षदेखि अलपत्र परेको छ। १८ करोड ८४ लाख रुपैयाँभन्दा बढीमा ठेक्का दिइएको अस्पतालको हालसम्म १० प्रतिशतभन्दा कम मात्र भौतिक प्रगति भएको नगरपालिकाले जनाएको छ।

२०७८ कात्तिकमा स्काई निशान अधिकारी जेभीसँग सम्झौता भएको आयोजनाको निर्माण २०८० भदौमै सकिनुपर्ने थियो। पटकपटक म्याद थपिए पनि कामले गति लिन सकेको छैन। निर्माण कम्पनीले हालसम्म तीन करोड ७८ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ।

निर्माणस्थल भिरालो र पहिरोको जोखिमयुक्त रहेको भन्दै स्थानीयले सुरुदेखि नै विरोध गर्दै आएका थिए। अस्पतालको जग खन्ने क्रममा जोखिम बढेपछि माथिल्लो भागका चार परिवारसमेत विस्थापित भएका छन्।

नगरपालिकाले आवश्यक सहयोग र पटकपटक ताकेता गरे पनि पछिल्लो पटक भुक्तानी लिएपछि मुख्य ठेकेदारका प्रतिनिधि सम्पर्कविहीन भएको नगरप्रमुख रामबहादुर बानियाँले बताएका छन्। कम्पनीले २०८३ मङ्सिरसम्म निर्माण सक्ने लिखित प्रतिबद्धता जनाएको भए पनि काम अघि बढ्न सकेको छैन।

यसैबीच, ‘एक पालिका, एक अस्पताल’ कार्यक्रमअन्तर्गत बाजुराकै गौमुल र जगन्नाथ गाउँपालिकामा निर्माण भएका अस्पताल भने सञ्चालनमा आइसकेका छन्।

Read More

उर्लाबारी नगरपालिकाले ६ निर्माण कम्पनीको ठेक्का तोड्ने तयारी

काठमाडौँ। मोरङको उर्लाबारी नगरपालिकाले तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोड्ने तयारी गरेको छ।

नगर कार्यपालिकाको कार्यालय उर्लाबारीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै पटक–पटक सहजीकरण तथा मौखिक र लिखित रूपमा ताकेता गर्दा पनि निर्माण व्यवसायीहरूले काम सम्पन्न गर्न चासो नदेखाएको जनाएको छ।

नगरपालिकाले ठेक्का सम्झौता अन्त्य नगर्नुपर्ने र कारबाही प्रक्रिया अघि नबढाउनुपर्ने कुनै ठोस कारण भए प्रमाणसहित लिखित जवाफ लिएर आधिकारिक प्रतिनिधिलाई कार्यालयमा उपस्थित हुन भनेको छ।

सूचनामा तोकिएको १५ दिनभित्र मनासिब कारणसहित उपस्थित नभएमा सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ तथा खरिद सम्झौताका सर्तबमोजिम ठेक्का अन्त्य गरी नियमानुसार थप कारबाही अघि बढाइने चेतावनी दिइएको छ।

Read More

चितवनमा ८०२ घरमा प्रशासनको सहजीकरणमा ग्यास सिलिण्डर पुर्‍याइयो

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले ८०२ घरमा खाना पकाउने ग्यासका सिलिण्डर पुर्‍याउन सहजीकरण गरेको छ। असहाय, अशक्त, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक तथा विद्यार्थीलाई प्राथमिकतामा राखेर ग्यास घरमै पुर्‍याइएको हो।

गत एक सातामा प्रशासनको टोल फ्रि नम्बरमा ग्यास अभाव भएको गुनासो टिपाएका उपभोक्तालाई लक्षित गरी सहजीकरण गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। उनका अनुसार भरतपुरसँगै पूर्वी र पश्चिम चितवनका विभिन्न क्षेत्रमा ग्यास सिलिण्डर वितरण गरिएको छ। ग्यास अभाव भएका आश्रममा समेत आश्रममै सिलिण्डर पुर्‍याइएको उनले बताए।

उद्योगबाट ग्यास डिपोमा पुगे पनि डिपोबाट सर्वसाधारण उपभोक्तासम्म सहज रूपमा नपुगेको गुनासो आएपछि स्थानीय प्रशासनले ग्यास उद्योगदेखि खुद्रा व्यापारीसम्मको अनुगमन थालेको छ। उद्योगीहरूले पर्याप्त ग्यास आयात तथा वितरण भइरहेको दाबी गरे पनि उपभोक्ताले घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था देखिएपछि उद्योगदेखि वितरण प्रणालीसम्मको अनुगमन गर्न थालिएको अर्यालले बताए।

सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमको नेतृत्वमा प्रहरीसहितको टोलीले बजार अनुगमन गरिरहेको छ। जिल्लामा मासिक करिब एक लाख २० हजार सिलिण्डर ग्यास आवश्यक पर्ने भए पनि हाल दैनिक ६ देखि ७ हजार सिलिण्डर मात्र वितरण भइरहेकाले अभाव देखिएको प्रशासनले जनाएको छ।

चितवनमा हाल साईबाबा, बाबा र नेपाल ग्यास उद्योग सञ्चालनमा छन्। यी उद्योगमार्फत जिल्लाका विभिन्न डिलरमा नियमित रूपमा ग्यास पठाइँदै आएको छ।

बाबा ग्यास उद्योगका सञ्चालक विमल कालाखेतीका अनुसार चितवनमा रहेका उद्योगले चितवनसहित विभिन्न जिल्लामा ग्यास पठाउँदै आएका छन्। भरिएका सिलिण्डरमध्ये करिब आधा चितवनमा र आधा अन्य जिल्लामा पठाउने गरिएको उनले बताए।

उनका अनुसार बुलेटमार्फत ग्यास भर्ने भारतको दुर्गापुरस्थित रिफाइनरीमा समस्या आएपछि अहिले पारादीपबाट ग्यास भर्ने गरिएको छ। दुर्गापुर पुग्न करिब दुई दिन लाग्ने भए पनि पारादीप पुग्न चार दिनसम्म लाग्ने भएकाले आपूर्ति प्रभावित भएको उनको भनाइ छ।

त्यस्तै, ग्यास आपूर्ति गर्दै आएको बरौनी रिफाइनरीबाट समेत कम परिमाणमा ग्यास प्राप्त हुनु र माग बढ्नुले बजारमा ग्यासको अभाव देखिएको कालाखेतीले बताए।

Read More

घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृहमा पहिरो, एक बेपत्ता र एक घाइते

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृहमा मंगलबार बिहान पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्।

पहिरोमा परी आयोजनाका कामदार अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाल बेपत्ता भएका हुन्। गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक भने घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पहिरोमा बेपत्ता बरुवालको खोजीका लागि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीको टोली परिचालन गरिएको छ। घाइते विकको उद्धार गरी प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।

विद्युत् गृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा विद्युत् गृह पुरिएको हो। पहिरोका कारण विद्युत् गृहमा रहेका उपकरणमा क्षति पुगेपछि म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ।

Read More