काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले देवानगञ्ज घटनाको निष्पक्ष छानबिनको माग गर्दै १२ दिनदेखि आमरण अनशनमा रहेका विनय यादवको स्वास्थ्यप्रति संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएको छ।
आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै लामो समयदेखि अनशनरत यादवको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको भन्दै उनको जीवन रक्षाका लागि तत्काल आवश्यक उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको हो।
आयोगका अनुसार अनशनस्थल माइतीघर पुगेर यादवको स्वास्थ्य अवस्था तथा त्यहाँ उपलब्ध स्वास्थ्य उपचारसम्बन्धी व्यवस्थाबारे अनुगमन गरिएको थियो। अनुगमनका क्रममा यादवको सुगर र रक्तचाप घट्दै गएको तथा लामो समयको आमरण अनशनका कारण स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको आयोगले जनाएको छ।
आयोगले अनशन सुरु भएको १२ दिन बितिसक्दा पनि नेपाल सरकारका तर्फबाट स्वास्थ्य उपचारको उचित व्यवस्था वा वार्ताका लागि कुनै पहल नभएको जनाएको छ।
आयोगले यादवको जीवन रक्षालाई प्राथमिकतामा राख्दै तत्काल स्वास्थ्य उपचारको प्रबन्ध गर्न तथा समस्याको समाधानका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ।




