काठमाडौं। वीरगन्जस्थित नारायणी अस्पतालमा सर्पदंशका बिरामीलाई दिइने एन्टी स्नेक भेनम (एएसभी) इन्जेक्शन सकिएपछि उपचार प्रभावित भएको छ। दुई दिनदेखि एएसभीको मौज्दात शून्य भएपछि अस्पतालले सर्पदंशका बिरामीलाई अन्य अस्पताल तथा उपचार केन्द्रमा पठाउन थालेको हो।
अस्पताल प्रशासनले सोमबार सूचना जारी गर्दै एएसभी सकिएको र तालुक कार्यालयबाट समेत आपूर्ति हुन नसकेको जनाएको छ।
आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी प्रहलादप्रसाद साहका अनुसार नारायणी अस्पतालमा दैनिक औसत ७–८ जना सर्पदंशका बिरामी आउने गरेका छन्। पर्सा, बारा, रौतहट र सर्लाहीलगायत जिल्लाबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन्।
यसअघि एएसभीको मौज्दात घटेपछि ठोरी, निजगढ, कौल्हबी र सर्लाहीको नवलपुरलगायतका सर्पदंश उपचार केन्द्रबाट औषधि ल्याएर काम चलाइएको थियो।
साहले साउन ७ गते नै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुर पुगेर एएसभी अभावबारे जानकारी गराए पनि केन्द्रमा स्टक नभएको जवाफ पाएको बताए। गत आइतबार पुनः फोन गर्दा पनि औषधि आइनसकेको जानकारी पाएको उनको भनाइ छ।
अस्पतालले एएसभीको आपूर्ति नहुँदासम्म सर्पदंशका बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था रहेको जनाएको छ।




