२०८३ श्रावण २७

‘द राइज अफ साम्राज्य’मा दयाहाङ राई अनुबन्धित

काठमाडौं । निर्देशक सौरभ चौधरीले आफ्नो नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’ मा अभिनेता दयाहाङ राईलाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन्। यसअघि अभिनेता सौगात मल्ललाई मुख्य भूमिकामा अनुबन्ध गरेका चौधरीले अब दयाहाङलाई पनि चलचित्रमा भित्र्याएका हुन्।

दयाहाङ र सौगात नेपाली चलचित्रका चर्चित जोडी हुन्। ‘लुट’मार्फत एकैपटक चर्चामा आएका यी दुई अभिनेता एउटै चलचित्रमा देखिँदा दर्शकमा उत्साह र कौतुहलता बढ्ने गरेको छ। दुवैको सहभागितासँगै ‘द राइज अफ साम्राज्य’प्रतिको अपेक्षा पनि बढेको निर्माण पक्षको विश्वास छ।

निर्देशक चौधरीले चलचित्रमा अझै केही सरप्राइजिङ नाम सार्वजनिक गर्न बाँकी रहेको बताएका छन्। उनका अनुसार चलचित्रलाई उत्कृष्ट र प्रतीक्षित बनाउन निर्माण टिमले कुनै कसर बाँकी राख्ने छैन।

“हामीले हालसम्म सौगात र दयाहाङलाई हाम्रो चलचित्रमा भित्र्याएका छौँ। यी दुई नामसँगै हामीसँग अझै सरप्राइजिङ नाम बाँकी नै छ,” चौधरीले भने, “हामी यो पटक हाम्रो सिनेमालाई राम्रो र प्रतिक्षित बनाउन कुनै पनि कसर बाँकी राख्ने छैनौँ। दर्शकलाई सकेसम्म राम्रो र स्तरीय सिनेमा दिनु हाम्रो उद्देश्य हो।”

निर्देशक चौधरीले दयाहाङसँग पहिलोपटक सहकार्य गर्न लागेका हुन्। चलचित्रमा दयाहाङलाई अहिलेसम्मभन्दा भिन्न चरित्रमा प्रस्तुत गर्ने उनको भनाइ छ। सौगात र दयाहाङको सहभागितासँगै चलचित्रको लाइनअप बलियो बनेको निर्माण पक्षको दाबी छ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्र मल्टीस्टारर हुने निश्चित भएको छ। उपन्यासकार बुद्धिसागरले चलचित्रको कथा तथा पटकथा लेखेका छन्। निर्देशक चौधरीका अनुसार चलचित्र ‘एपिक एक्सन ड्रामा’ हुनेछ।

चौधरीले यसपटक आफ्नो अघिल्ला चलचित्रको तुलनामा अझ ठूलो क्यानभासमा काम गर्ने योजना बनाएका छन्। निर्माण पक्षले यसलाई नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन चलचित्र बनाउने दाबी गरेको छ।

चलचित्रको छायांकन आगामी भदौको पहिलो साताबाट सुरु हुनेछ। निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा छायांकन गरिनेछ।

चलचित्रका निर्माता प्रवेश चौधरी र निला देव हुन्। को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) तथा कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन्।

मानकृष्ण महर्जन डीओपी रहने चलचित्रको एक्सन निर्देशन श्री श्रेष्ठले गर्नेछन्। डिजिटल पार्टनर ओएसआर डिजिटल, पब्लिसिटी पार्टनर टौवा स्टुडियो र वितरक डिसीएन रहेका छन्।