काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले बजारमा ग्यासको चरम अभाव देखिएको र त्यसबाट उपभोक्ता मर्कामा परेको विषय निरन्तर उठाएपछि अध्यक्ष दाहालले सरकारका नाममा रुलिङ गरेका हुन्।
बैठकमा अध्यक्ष दाहालले बजारमा ग्यास अभावका कारण जनताले भोग्नुपरेको समस्याबारे सांसदहरूले शून्य समय र विशेष समयमा आवाज उठाइरहेको तथा जनस्तरबाट समेत व्यापक गुनासो आएको बताए।
उनले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री–वितरण सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
पछिल्लो समय बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको र सर्वसाधारणले सास्ती भोग्नुपरेको भन्दै सांसदहरूले सरकारको आलोचना गर्दै आएका थिए।
अध्यक्षको रुलिङसँगै सरकारले ग्यास आपूर्तिको अवस्था र बजार अनुगमनबारे सदनलाई जानकारी गराउनुका साथै आपूर्ति सहज बनाउन आवश्यक कदम चाल्नुपर्ने भएको छ।




