२०८३ श्रावण २९

विवादित कुरिल द्वीपमा पुटिनको भ्रमण, जापानको कडा विरोध

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापान र रुसबीच लामो समयदेखि विवादमा रहेको कुरिल द्वीपसमूहमध्येको इटुरुप द्वीप भ्रमण गरेपछि जापानले कडा विरोध जनाएको छ।

रुसी सरकारी सञ्चारमाध्यमका अनुसार पुटिनले बिहीबार इटुरुप द्वीपको भ्रमण गरेका हुन्। भ्रमणका क्रममा उनले स्थानीय बासिन्दासँग कुराकानी गर्नुका साथै यास्नीस्थित माछा प्रशोधन केन्द्रको निरीक्षण गरेका थिए। रुसी सञ्चारमाध्यमका अनुसार पुटिनले माछाको अण्डाबाट बनेको परिकारसमेत स्वाद लिएका थिए।

जापानमा एतोरोफु भनेर चिनिने इटुरुप कुरिल द्वीपसमूहका जापानले दाबी गर्दै आएका चार दक्षिणी द्वीपमध्ये एक हो। जापानले यी द्वीपलाई ‘उत्तरी क्षेत्र’ भन्दै आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ भने हाल यी द्वीप रुसी प्रशासनमा छन्।

पुटिनको भ्रमणप्रति जापानले कडा विरोध जनाएको छ। जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले इटुरुपलगायत चार द्वीप ऐतिहासिक तथा अन्तर्राष्ट्रिय कानुनका आधारमा जापानी भूभाग भएको जापानको अडान दोहोर्याउँदै रुसी पक्षसमक्ष विरोध जनाएको बताएका छन्।

रुस र जापानबीच कुरिल द्वीपलाई लिएर दशकौँदेखि विवाद रहँदै आएको छ। यही क्षेत्रीय विवादका कारण दोस्रो विश्वयुद्धपछि दुवै देशबीच औपचारिक शान्ति सन्धि हुन सकेको छैन।

कुरिल द्वीपसमूह जापानको उत्तरी होक्काइदो र रुसको कामचाट्का प्रायद्वीपबीच फैलिएको छ। जापानले दक्षिणी चार द्वीप—इटुरुप, कुनाशिर, शिकोटान र हाबोमाई—लाई आफ्नो उत्तरी क्षेत्रका रूपमा दाबी गर्छ। रुसले भने यी द्वीपमा प्रशासनिक तथा सैन्य नियन्त्रण कायम राखेको छ।

कुरिल द्वीपसमूह रुसका लागि रणनीतिक तथा सैन्य दृष्टिले महत्त्वपूर्ण क्षेत्र हो। इटुरुपमा प्रमुख सैन्य हवाई पूर्वाधारसमेत रहेको छ। हालै चीन र रुसका नौसैनिक जहाजहरूले संयुक्त गस्तीका क्रममा जापान र रुसनजिकका रणनीतिक जलमार्ग पार गरेका थिए। जुलाईमा भएको उक्त संयुक्त गस्तीमा चिनियाँ र रुसी युद्धपोतले मियाको, भ्रीयस (एतोरोफु) र ला पेरुज (सोया) जलडमरूसहित पश्चिमी प्रशान्त, ओखोत्स्क सागर र जापान सागर क्षेत्रमा गस्ती गरेका थिए।

दोस्रो विश्वयुद्धको अन्त्यतिर सोभियत संघले कुरिल द्वीपसमूहमाथि नियन्त्रण कायम गरेको थियो। त्यसपछि करिब १७ हजार जापानी बासिन्दा त्यहाँबाट विस्थापित भएका थिए। त्यसयता द्वीपहरूको स्वामित्वलाई लिएर जापान र रुसबीचको विवाद निरन्तर रहँदै आएको छ।