२०८३ भाद्र ८

ट्रम्पद्वारा इरानमाथि अहिलेसम्मकै कडा आर्थिक कारबाही घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। इरानसँग जारी पाँच महिनाभन्दा लामो द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भएका वार्ता निष्कर्षविहीन बनेपछि अमेरिकाले तेहरानमाथि आर्थिक दबाब थप बढाउने निर्णय गरेको हो।

ट्रम्पले बुधबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानले सम्झौताको अवसर गुमाएको आरोप लगाउँदै नयाँ आर्थिक कदम घोषणा गरेका हुन्। उनले इरानविरुद्ध अहिलेसम्मकै कठोर आर्थिक कारबाही अघि बढाइएको दाबी गरेका छन्।

इरानसँग व्यापार गर्ने वा उसलाई आर्थिक सहयोग उपलब्ध गराउने देश तथा संस्थाहरूलाई समेत अमेरिकी कारबाहीको सामना गर्नुपर्ने चेतावनी ट्रम्पले दिएका छन्। इरानलाई सहयोग पुग्ने गरी वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकाय प्रयोग गर्न दिने मुलुकहरूले समेत ठूलो आर्थिक परिणाम भोग्नुपर्ने उनको भनाइ छ।

त्यस्तै, इरानसँग सम्बन्धित तेल तस्करी, वित्तीय कारोबार, नगद हस्तान्तरण, मुद्रा विनिमय, जहाज दर्ता तथा नक्कली कम्पनीमार्फत हुने गतिविधि तत्काल रोक्न ट्रम्पले निर्देशन दिएका छन्।

अमेरिकाले अप्रिलदेखि ‘अपरेसन इकोनोमिक फ्युरी’ अन्तर्गत इरानमाथि दबाब बढाउँदै आएको छ। अभियानअन्तर्गत इरानको तेल, समुद्री ढुवानी र वित्तीय क्षेत्रलाई लक्षित गर्दै प्रतिबन्ध कडा पारिएको छ। साथै, इरानी बन्दरगाह आसपास अमेरिकी नौसैनिक गतिविधि पनि बढाइएको बताइएको छ।