२०८३ भाद्र ८

तीन वर्षीया बालिकाको हत्या विरोधमा बारामा आन्दोलन चर्कियो

काठमाडौं। तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा बाराको जीतपुर–सिमरा उपमहानगरपालिकामा आन्दोलन चर्किएको छ। दोषीलाई कडा कारबाही र प्रहरी प्रशासनको लापरबाहीमाथि छानबिनको माग गर्दै आक्रोशित स्थानीयवासीले बिहीबार मुख्य तथा ग्रामीण सडकमा टायर बालेर यातायात ठप्प पारेका छन्।

घटनाको विरोधमा उपमहानगरभित्रका निजी तथा सामुदायिक विद्यालयहरूले शोकसभा आयोजना गर्दै पठनपाठनसमेत बन्द गरेका छन्। बालिका हराएको सूचना पाएपछि पनि प्रहरीले खोजीमा गम्भीरता नदेखाएको भन्दै आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यालय सिमरा घेराउ गरेका छन्। उनीहरूले कार्यालयका इन्चार्जमाथि कारबाहीको माग गरेका छन्।

आन्दोलनका कारण सिमरा–डुमरवाना, पिलुवा–वडहर्वा, सिमरा–जीतपुर र पथलैया–सिमरा सडकखण्डमा सवारीसाधन चलेका छैनन्। वीरगञ्ज–पथलैया सडकखण्डसमेत आन्दोलनका कारण प्रभावित बनेको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले घटनामा संलग्न आरोपित पक्राउ परिसकेको जानकारी दिएका छन्। आन्दोलनरत पक्षसँग निर्णायक वार्ताको प्रयास भइरहेको बताउँदै उनले प्रहरीको भूमिकाबारे उठेका प्रश्नमाथि छानबिन भइरहेको जानकारी दिए। प्रशासनले आन्दोलनरत पक्षलाई संयम अपनाउन आग्रह गरेको छ।

Read More

सर्वोच्च र उच्च अदालतका न्यायाधीश नियुक्तिबारे निर्णय गर्न न्याय परिषद् बैठक बस्दै

काठमाडौं। सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश नियुक्तिलगायत विभिन्न विषयमा निर्णय गर्न आज न्याय परिषद्को बैठक बस्दैछ।

बैठकमा सर्वोच्च अदालतका न्यायाधीश सिफारिसलगायतका विषयमा छलफल हुने बताइएको छ।

न्याय परिषद्मा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कानुनमन्त्री सोविता गौतम, प्रधानमन्त्रीको सिफारिसमा नियुक्त सदस्य महेशकुमार नेपाल र नेपाल बार एसोसिएसनको सिफारिसमा नियुक्त सदस्य दामोदर खड्का सदस्य छन्।

न्याय परिषद्को बैठक प्रधानन्यायाधीशले बोलाउने अभ्यास रहँदै आएको छ।

Read More

अख्तियारको स्वायत्ततामाथि प्रश्न उठाउँदै सांसद सिंहको आक्रोश

काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक अंग हो कि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको शाखा हो भन्ने स्पष्ट पार्न आग्रह गरेका छन्।

केही समयअघि अख्तियार प्रमुखसहितका पदाधिकारीलाई करिब ७ घण्टा प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बोलाइएको प्रसंग उल्लेख गर्दै सिंहले अख्तियारले प्रधानमन्त्रीमाथिसमेत छानबिन गर्न सक्ने बताए।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा बोल्दै उनले अख्तियारको मर्यादा र स्वायत्ततामाथि प्रश्न उठेको बताए।

‘अख्तियार संवैधानिक अंग हो कि प्रधानमन्त्री कार्यालयको शाखा हो, स्पष्ट गरिदिनुस्। यसले प्रधानमन्त्रीको समेत छानबिन गर्न सक्छ,’ उनले भने, ‘अख्तियारको मर्यादा समाप्त हुँदैछ। प्रधानमन्त्री हुँदैमा कोही राजा हुँदैन। सांसद रैती हुँदैन।’

सांसद सिंहले अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्रीले बोलाएमा नजान र आवश्यक परे लिखित पत्र माग्नसमेत आग्रह गरे।

गत असार पहिलो साता अख्तियारका पदाधिकारी प्रधानमन्त्री कार्यालय पुगेको घटनालाई लिएर पनि प्रश्न उठेको थियो। सरकारमाथि निगरानी राख्ने र सन्तुलन कायम गर्ने संवैधानिक अंगका पदाधिकारीलाई प्रधानमन्त्री बालेन शाहका सहयोगीहरूले कार्यालयमा घन्टौंसम्म राखेर केरकार गरेको भन्दै आलोचना भएको थियो।

अख्तियार प्रमुखसहित आयुक्तहरू सहभागी बैठकमा सिंहले आयोगकै कामकारबाहीमाथिसमेत प्रश्न उठाए। उनले अख्तियारले बिचौलियालाई संरक्षण गर्ने गरेको आरोप लगाउँदै ठूला भ्रष्टाचारका घटनामा प्रभावकारी अनुसन्धान हुन नसकेको बताए।

‘अख्तियारले पनि बिचौलिया पाल्दो रहेछ। सय जना चिन्छु। त्यहाँ बसेर पैसा उठाउँदा बदनाम हुन्छ,’ उनले भने, ‘अख्तियारले सम्पत्ति हेर्ने आफ्नो दायित्व पूरा नगर्दा अरू आयोग बने। भैरहवा विमानस्थलमा भ्रष्टाचार भएको छ, म रेकर्ड गराउँछु। ठूला भ्रष्टाचारमा केही नगर्ने?’

Read More

आमाले कलेजो दान गरेपछि ५ वर्षीया बालिकाको सफल प्रत्यारोपण

काठमाडौं। नेपालमा पहिलो पटक निजी अस्पतालको संरचनामा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरिएको छ। किष्ट प्रत्यारोपण केन्द्रले आमाबाट छोरीमा गरिएको जीवितदाता कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको हो।

विल्सन रोगका कारण गम्भीर स्वास्थ्य अवस्थामा पुगेकी बालिकालाई उपचारका लागि किष्ट शिक्षण अस्पताल ल्याइएको थियो। प्रत्यारोपणअघि उनको स्वास्थ्य अवस्था जटिल रहेकाले करिब एक महिनासम्म विभिन्न विशेषज्ञ चिकित्सकको संयुक्त उपचार, सघन उपचार तथा निरन्तर निगरानीपछि स्वास्थ्य अवस्था स्थिर बनाएर प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ।

वि.सं. २०८३ भदौ २ गते ३३ वर्षीया आमाले आफ्नी ५ वर्षीया छोरीलाई आफ्नो कलेजोको एक अंश दान गरेकी थिइन्। आमाबाट छोरीमा गरिएको उक्त जीवितदाता कलेजो प्रत्यारोपण सफल भएको हो।

बाल कलेजो प्रत्यारोपण अत्यन्त जटिल चिकित्सा प्रक्रिया मानिन्छ। यसका लागि प्रत्यारोपण शल्यचिकित्सक, कलेजो रोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट, बालरोग विशेषज्ञ, सघन उपचार टोली तथा अत्याधुनिक चिकित्सा पूर्वाधार आवश्यक हुन्छ। किष्ट प्रत्यारोपण केन्द्रको विभिन्न विशेषज्ञ सम्मिलित टोलीले आपसी समन्वयमा उपचार सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।

यस सफलतासँगै किष्ट प्रत्यारोपण केन्द्रले आगामी दिनमा बाल उपचार सेवासमेत विस्तार गर्दै बालबालिकाका लागि विभिन्न विशेषज्ञ सम्मिलित उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।

एक आमाको त्याग र चिकित्सकहरूको समर्पणबाट सम्भव भएको यो सफलताले नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विकास र विस्तारतर्फ महत्वपूर्ण उपलब्धि हासिल भएको केन्द्रको विश्वास छ।

Read More

डोजरले घर भत्काएपछि विस्थापित सुकुम्बासीको आत्महत्या

काठमाडौं। काठमाडौं उपत्यकाबाट विस्थापित भएका अर्का एक भूमिहीन सुकुम्बासीले आत्महत्या गरेका छन्।

करिब चार महिनाअघि सरकारले काठमाडौंको शान्तिनगर (गैरीगाउँ)स्थित सुकुम्बासी बस्तीमा डोजर चलाएर घर भत्काएपछि टिकाथलीमा डेरा गरी बस्दै आएका करिब ५० वर्षीय चम्बरबहादुर नेपालीले आत्महत्या गरेका हुन्।

घर भत्किएपछि सरकारले दिएको २५ हजार रुपैयाँ राहत लिएर उनी डेरामा बस्दै आएका थिए। नेपालीको परिवारमा श्रीमती र छोराछोरीसहित सात जना सदस्य थिए।

Read More

बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा नियुक्त हुँदै

काठमाडौँ बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा (एमाले)का किरण थापालाई नयाँ मुख्यमन्त्री नियुक्त गर्ने भएका छन्।

प्रदेश प्रमुखको कार्यालयका अनुसार थापालाई आज अपराह्न ४:०५ बजे मुख्यमन्त्री नियुक्त गर्ने र ४:२० बजे शपथ ग्रहण समारोह आयोजना गर्ने तयारी गरिएको छ।

थापालाई मुख्यमन्त्री नियुक्त गर्न एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनसहितको निवेदन प्राप्त भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्राप्त निवेदनका आधारमा सरकार गठनसम्बन्धी प्रक्रिया अघि बढाइने कार्यालयले स्पष्ट पारेको छ।

तीन दलको समर्थनसहित सरकार गठनका लागि दाबी प्रस्तुत भएपछि प्रदेश प्रमुखले सोही आधारमा थापालाई मुख्यमन्त्री नियुक्त गर्न लागेका हुन्।

Read More

धौवादी फलाम खानी उत्खननको योजना तयार, ९ करोड ६० लाख धाउँ फलाम उत्खनन गर्ने लक्ष्य

काठमाडौँ। धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको फलाम खानी उत्खननका लागि योजना तयार गरेको छ। कम्पनीले करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको खानीबाट ९ करोड ६० लाख धाउँ फलाम उत्खनन गर्न सकिने योजनासहितको प्रतिवेदन खानी तथा भू–गर्भ विभागमा बुझाएको जनाएको छ।

कम्पनीका अनुसार खानी क्षेत्रलाई धौवादी पोखरी ब्लक र दुर्लुङ ब्लक गरी दुई भागमा विभाजन गरिएको छ। धौवादी पोखरी ब्लक २५ वर्ग किलोमिटर र दुर्लुङ ब्लक १६ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।

उक्त योजना स्वीकृत भएपछि फलामको भण्डारसम्बन्धी थप अनुसन्धान तथा उत्खननको काम अघि बढाइने कम्पनीले जनाएको छ। नेपालमा फलामको व्यावसायिक उत्पादन गर्ने उद्देश्यले धौवादी फलाम कम्पनी लिमिटेड स्थापना गरिएको हो।

कम्पनीका निर्देशक शैलेशकुमार थापाका अनुसार जमिनमुनि रहेको फलामको नमुना परीक्षणका लागि विभिन्न १२ स्थानमा गरी एक हजार ५०० मिटर ड्रिलिङ सम्पन्न गरिएको छ।

हाल खानीको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम भइरहेको कम्पनीले जनाएको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कामसमेत छिट्टै सुरु गरिने जनाइएको छ।

खानी सञ्चालनमा आएपछि उत्पादित फलामजन्य वस्तुले मुलुकको कुल मागको करिब २५ प्रतिशतसम्म आयात प्रतिस्थापन गर्न सक्ने अपेक्षा गरिएको निर्देशक थापाले बताए। खानी सञ्चालनबाट ठूलो सङ्ख्यामा रोजगारी सिर्जना हुनुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुग्ने उनको विश्वास छ।

खानीसम्म पहुँचका लागि आवश्यक पूर्वाधार निर्माण तथा सडक स्तरोन्नतिको कामसमेत भइरहेको कम्पनीले जनाएको छ।

Read More

विपद् प्रभावितलाई सहयोग गर्न अन्नपूर्ण गाउँपालिकाको अपिल

काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिकाले बाढी, पहिरोलगायत विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गर्न अपिल गरेको छ। गाउँपालिकाले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पीडित परिवारलाई सहयोग गर्न विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याएको जनाएको छ।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार गत असार र साउनमा आएको बाढी, पहिरो तथा अन्य विपद्जन्य घटनाबाट गाउँपालिका क्षेत्रका सडक, पुल, होटललगायत भौतिक संरचना, कृषि क्षेत्र तथा स्थानीयको जनजीवनमा ठूलो क्षति पुगेको छ।

क्षतिको विवरण सङ्कलन भइरहेको जनाउँदै अध्यक्ष केसीले गाउँपालिकाको स्रोतसाधनले मात्रै विपद् व्यवस्थापन सम्भव नभएकाले सहयोगका लागि सबै व्यक्ति, संघसंस्था तथा सरोकारवालालाई कोषमा योगदान गर्न आह्वान गरिएको बताए।

गाउँपालिकाले स्वदेश तथा विदेशमा रहेका सहयोगी व्यक्ति, विभिन्न संघसंस्था, सामाजिक तथा व्यावसायिक प्रतिष्ठानलाई विपद् व्यवस्थापन कोषमा सहयोग गर्न आग्रह गरेको छ। प्राप्त सहयोग रकम विपद् प्रभावित परिवारको राहत, उद्धार, पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यमा प्राथमिकताका साथ परिचालन गरिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार मोदी खोलामा आएको बाढीले बीरेठाँटीमा करिब १०० मिटर पक्की कालोपत्र सडक बगाएपछि गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद भएका छन्। बीरेठाँटी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ भने चिम्रुङ, हाइजुङलगायत आसपासका क्षेत्रमा पनि बाढीपहिरोले क्षति पुर्‍याएको छ।

अन्नपूर्ण–११ झिनुस्थित मोदी खोला किनारमा रहेको तातोपानी कुण्डसमेत बाढीले बगाएको छ। खोलाको किनारमा सिमेन्ट, ढुङ्गा तथा बालुवाबाट निर्माण गरिएका तीनवटा तातोपानी कुण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

बाढीका कारण उक्त क्षेत्रमा केही होटल, मन्दिर तथा झोलुङ्गे पुलमा समेत क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले बताए। क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको उनको भनाइ छ।

बाढीबाट प्रभावित बीरेठाँटी घान्द्रुक, छुम्रुङ तथा अन्नपूर्ण आधार शिविर (एबीसी) जाने प्रमुख प्रवेशमार्ग हो। बीरेठाँटी हुँदै तिखेढुङ्गा, उल्लेरी भएर म्याग्दीको प्रसिद्ध घोडेपानी तथा पुनहिल जाने पर्यटकीय मार्गसमेत भएकाले सडक तथा पूर्वाधारमा भएको क्षतिले स्थानीय जनजीवनसँगै पर्यटन आवागमनमा समेत असर परेको गाउँपालिकाले जनाएको छ।

Read More

समाज कल्याण परिषद्को प्रभावकारी अनुगमन हुन नसकेको सांसद सुनारको आरोप

काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले समाज कल्याण परिषद् प्रभावकारी अनुगमन र नियमन गर्न नसक्दा बदनाम बन्दै गएको आरोप लगाएका छन्।

बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले नेपाललाई प्राप्त हुने वैदेशिक सहायता तथा त्यसको उपयोगबारे प्रभावकारी लेखापरीक्षण र अनुगमन आवश्यक रहेको बताए।

उनले समाज कल्याण परिषद्मा दर्ता भएका गैरसरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले प्राप्त गर्ने वैदेशिक सहायता, सञ्चालन गर्ने कार्यक्रम तथा त्यसबाट लक्षित समुदायले प्राप्त गरेको लाभको प्रभावकारी मूल्याङ्कन हुनुपर्नेमा त्यसो हुन नसकेको दाबी गरे।

विशेषगरी दलित, गरिब, सीमान्तकृत तथा पिछडिएका समुदायका नाममा प्राप्त हुने वैदेशिक सहायता वास्तविक लक्षित समुदायसम्म पुग्न नसकेको उनको आरोप छ। कार्यक्रम सञ्चालन, तालिम तथा प्रशासनिक खर्चका नाममा ठूलो रकम खर्च हुने गरे पनि त्यसको प्रत्यक्ष प्रभाव र परिणाम देखिन नसकेको उनले बताए।

सांसद सुनारले जात, धर्म वा समुदायका नाममा सामाजिक विभाजन बढाउने गतिविधि वैदेशिक सहायता वा सरकारी स्वीकृतिको आडमा सञ्चालन गर्न नहुने धारणा राखे।

उनले दलित तथा गरिब समुदायका लागि विनियोजन गरिएको बजेट कार्यान्वयनमा सरकारी निकायबाट हुने ढिलाइप्रति समेत असन्तुष्टि जनाउँदै लक्षित वर्गका लागि छुट्याइएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

Read More

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनलाइन ओपीडी टिकट सेवा सुरु

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारका लागि आउने बिरामीले अब घरमै बसेर मोबाइलमार्फत ओपीडी टिकट लिन सक्ने भएका छन्। प्रतिष्ठानले सूचना प्रविधिको प्रयोग गर्दै अनलाइन ओपीडी टिकट सेवा सञ्चालनमा ल्याएको हो।

प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईका अनुसार बिरामीले ‘राप्ती एकेडेमी हेल्थ’ वा ‘मेरो डाक्टर एप डाउनलोड गरी मोबाइल नम्बर र पासवर्ड प्रयोग गरेर लगइन गर्न सक्नेछन्। एपमा प्राप्त हुने ओटीपी कोड प्रविष्ट गरेपछि सेवा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। प्रतिष्ठानले यो सेवा आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको जनाएको छ।

प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्रले सरकारको सुशासन अभियानलाई आत्मसात् गर्दै सूचना प्रविधिको प्रयोगमार्फत बिरामीमैत्री स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकता दिइएको बताए। बिरामीको समय बचत गर्नुका साथै सेवा प्रवाहलाई थप व्यवस्थित र सहज बनाउन अनलाइन ओपीडी टिकट प्रणाली सुरु गरिएको उनको भनाइ छ।

अनलाइन प्रणालीमार्फत बिरामीले नियमित ओपीडी छनोट गरी उपचार गराउने सेवा, चिकित्सक तथा उपलब्ध समय आफूअनुकूल छनोट गर्न सक्नेछन्। नयाँ बिरामीले आवश्यक व्यक्तिगत विवरण प्रविष्ट गर्नुपर्नेछ भने पुराना बिरामीले आफ्नो कार्ड तथा अभिलेखमा रहेको विवरणका आधारमा सेवा लिन सक्ने व्यवस्था गरिएको छ।

मोबाइल एपमार्फत बिरामीले आवश्यक विवरण सुरक्षित रूपमा प्रविष्ट गरी आफूलाई आवश्यक सेवा र समय छनोट गरेर ओपीडी टिकट लिन सक्ने प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अस्पताल निर्देशक सहप्राध्यापक डा. सुरेश रसाइलीले अनलाइन टिकट सेवाले अस्पतालमा टिकट काट्न लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता कम गर्ने बताए। डिजिटल प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सेवालाई थप सहज, छिटो, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यले सेवा सुरु गरिएको उनले जानकारी दिए।

घरमै बसेर ओपीडी टिकट लिन सकिने भएपछि बिरामीको समय बचत हुनुका साथै अस्पतालमा हुने भीड व्यवस्थापनमा समेत सहयोग पुग्ने प्रतिष्ठानको विश्वास छ। प्रतिष्ठानले आगामी दिनमा पनि सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउने जनाएको छ।

Read More