काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक अंग हो कि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको शाखा हो भन्ने स्पष्ट पार्न आग्रह गरेका छन्।
केही समयअघि अख्तियार प्रमुखसहितका पदाधिकारीलाई करिब ७ घण्टा प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बोलाइएको प्रसंग उल्लेख गर्दै सिंहले अख्तियारले प्रधानमन्त्रीमाथिसमेत छानबिन गर्न सक्ने बताए।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा बोल्दै उनले अख्तियारको मर्यादा र स्वायत्ततामाथि प्रश्न उठेको बताए।
‘अख्तियार संवैधानिक अंग हो कि प्रधानमन्त्री कार्यालयको शाखा हो, स्पष्ट गरिदिनुस्। यसले प्रधानमन्त्रीको समेत छानबिन गर्न सक्छ,’ उनले भने, ‘अख्तियारको मर्यादा समाप्त हुँदैछ। प्रधानमन्त्री हुँदैमा कोही राजा हुँदैन। सांसद रैती हुँदैन।’
सांसद सिंहले अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्रीले बोलाएमा नजान र आवश्यक परे लिखित पत्र माग्नसमेत आग्रह गरे।
गत असार पहिलो साता अख्तियारका पदाधिकारी प्रधानमन्त्री कार्यालय पुगेको घटनालाई लिएर पनि प्रश्न उठेको थियो। सरकारमाथि निगरानी राख्ने र सन्तुलन कायम गर्ने संवैधानिक अंगका पदाधिकारीलाई प्रधानमन्त्री बालेन शाहका सहयोगीहरूले कार्यालयमा घन्टौंसम्म राखेर केरकार गरेको भन्दै आलोचना भएको थियो।
अख्तियार प्रमुखसहित आयुक्तहरू सहभागी बैठकमा सिंहले आयोगकै कामकारबाहीमाथिसमेत प्रश्न उठाए। उनले अख्तियारले बिचौलियालाई संरक्षण गर्ने गरेको आरोप लगाउँदै ठूला भ्रष्टाचारका घटनामा प्रभावकारी अनुसन्धान हुन नसकेको बताए।
‘अख्तियारले पनि बिचौलिया पाल्दो रहेछ। सय जना चिन्छु। त्यहाँ बसेर पैसा उठाउँदा बदनाम हुन्छ,’ उनले भने, ‘अख्तियारले सम्पत्ति हेर्ने आफ्नो दायित्व पूरा नगर्दा अरू आयोग बने। भैरहवा विमानस्थलमा भ्रष्टाचार भएको छ, म रेकर्ड गराउँछु। ठूला भ्रष्टाचारमा केही नगर्ने?’




