२०८३ भाद्र ८

विपद् प्रभावितलाई सहयोग गर्न अन्नपूर्ण गाउँपालिकाको अपिल

काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिकाले बाढी, पहिरोलगायत विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गर्न अपिल गरेको छ। गाउँपालिकाले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पीडित परिवारलाई सहयोग गर्न विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याएको जनाएको छ।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार गत असार र साउनमा आएको बाढी, पहिरो तथा अन्य विपद्जन्य घटनाबाट गाउँपालिका क्षेत्रका सडक, पुल, होटललगायत भौतिक संरचना, कृषि क्षेत्र तथा स्थानीयको जनजीवनमा ठूलो क्षति पुगेको छ।

क्षतिको विवरण सङ्कलन भइरहेको जनाउँदै अध्यक्ष केसीले गाउँपालिकाको स्रोतसाधनले मात्रै विपद् व्यवस्थापन सम्भव नभएकाले सहयोगका लागि सबै व्यक्ति, संघसंस्था तथा सरोकारवालालाई कोषमा योगदान गर्न आह्वान गरिएको बताए।

गाउँपालिकाले स्वदेश तथा विदेशमा रहेका सहयोगी व्यक्ति, विभिन्न संघसंस्था, सामाजिक तथा व्यावसायिक प्रतिष्ठानलाई विपद् व्यवस्थापन कोषमा सहयोग गर्न आग्रह गरेको छ। प्राप्त सहयोग रकम विपद् प्रभावित परिवारको राहत, उद्धार, पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यमा प्राथमिकताका साथ परिचालन गरिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार मोदी खोलामा आएको बाढीले बीरेठाँटीमा करिब १०० मिटर पक्की कालोपत्र सडक बगाएपछि गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद भएका छन्। बीरेठाँटी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ भने चिम्रुङ, हाइजुङलगायत आसपासका क्षेत्रमा पनि बाढीपहिरोले क्षति पुर्‍याएको छ।

अन्नपूर्ण–११ झिनुस्थित मोदी खोला किनारमा रहेको तातोपानी कुण्डसमेत बाढीले बगाएको छ। खोलाको किनारमा सिमेन्ट, ढुङ्गा तथा बालुवाबाट निर्माण गरिएका तीनवटा तातोपानी कुण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

बाढीका कारण उक्त क्षेत्रमा केही होटल, मन्दिर तथा झोलुङ्गे पुलमा समेत क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले बताए। क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको उनको भनाइ छ।

बाढीबाट प्रभावित बीरेठाँटी घान्द्रुक, छुम्रुङ तथा अन्नपूर्ण आधार शिविर (एबीसी) जाने प्रमुख प्रवेशमार्ग हो। बीरेठाँटी हुँदै तिखेढुङ्गा, उल्लेरी भएर म्याग्दीको प्रसिद्ध घोडेपानी तथा पुनहिल जाने पर्यटकीय मार्गसमेत भएकाले सडक तथा पूर्वाधारमा भएको क्षतिले स्थानीय जनजीवनसँगै पर्यटन आवागमनमा समेत असर परेको गाउँपालिकाले जनाएको छ।