२०८३ भाद्र ८

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनलाइन ओपीडी टिकट सेवा सुरु

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारका लागि आउने बिरामीले अब घरमै बसेर मोबाइलमार्फत ओपीडी टिकट लिन सक्ने भएका छन्। प्रतिष्ठानले सूचना प्रविधिको प्रयोग गर्दै अनलाइन ओपीडी टिकट सेवा सञ्चालनमा ल्याएको हो।

प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईका अनुसार बिरामीले ‘राप्ती एकेडेमी हेल्थ’ वा ‘मेरो डाक्टर एप डाउनलोड गरी मोबाइल नम्बर र पासवर्ड प्रयोग गरेर लगइन गर्न सक्नेछन्। एपमा प्राप्त हुने ओटीपी कोड प्रविष्ट गरेपछि सेवा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। प्रतिष्ठानले यो सेवा आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको जनाएको छ।

प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्रले सरकारको सुशासन अभियानलाई आत्मसात् गर्दै सूचना प्रविधिको प्रयोगमार्फत बिरामीमैत्री स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकता दिइएको बताए। बिरामीको समय बचत गर्नुका साथै सेवा प्रवाहलाई थप व्यवस्थित र सहज बनाउन अनलाइन ओपीडी टिकट प्रणाली सुरु गरिएको उनको भनाइ छ।

अनलाइन प्रणालीमार्फत बिरामीले नियमित ओपीडी छनोट गरी उपचार गराउने सेवा, चिकित्सक तथा उपलब्ध समय आफूअनुकूल छनोट गर्न सक्नेछन्। नयाँ बिरामीले आवश्यक व्यक्तिगत विवरण प्रविष्ट गर्नुपर्नेछ भने पुराना बिरामीले आफ्नो कार्ड तथा अभिलेखमा रहेको विवरणका आधारमा सेवा लिन सक्ने व्यवस्था गरिएको छ।

मोबाइल एपमार्फत बिरामीले आवश्यक विवरण सुरक्षित रूपमा प्रविष्ट गरी आफूलाई आवश्यक सेवा र समय छनोट गरेर ओपीडी टिकट लिन सक्ने प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अस्पताल निर्देशक सहप्राध्यापक डा. सुरेश रसाइलीले अनलाइन टिकट सेवाले अस्पतालमा टिकट काट्न लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता कम गर्ने बताए। डिजिटल प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सेवालाई थप सहज, छिटो, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यले सेवा सुरु गरिएको उनले जानकारी दिए।

घरमै बसेर ओपीडी टिकट लिन सकिने भएपछि बिरामीको समय बचत हुनुका साथै अस्पतालमा हुने भीड व्यवस्थापनमा समेत सहयोग पुग्ने प्रतिष्ठानको विश्वास छ। प्रतिष्ठानले आगामी दिनमा पनि सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउने जनाएको छ।