काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीको लोकेसन र यात्रुको प्रतीक्षा समयबारे जानकारी दिने ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप सञ्चालनमा आएको छ। एपमार्फत जीपीएस जडान गरिएका करिब १ हजार २०० सार्वजनिक सवारीको अवस्थाबारे जानकारी लिन सकिनेछ।
‘संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्’को तेस्रो बैठकमा परिषद् अध्यक्ष एवं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार एप सार्वजनिक गरेकी हुन्। प्राधिकरणले आगामी दिनमा एपमा थप सवारीसाधन समेट्ने जनाएको छ।
डंगोलले उपत्यकाको सार्वजनिक यातायातलाई सरल, सहज र पहुँचयोग्य बनाउन स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताइन्। उनले रात्रिकालीन सेवा विस्तार तथा विद्यार्थीका लागि बिहानैदेखि सार्वजनिक यातायात सञ्चालन गर्न वित्तीय साझेदारीसहितको साझा प्रणाली विकास गर्नुपर्नेमा जोड दिइन्।
ललितपुर महानगरपालिकाका प्रमुख एवं परिषद्का उपाध्यक्ष चिरीबाबु महर्जनले यात्रुले सार्वजनिक बस प्रयोग गर्दा सहजता महसुस गर्ने गरी प्रणाली सुधार गर्नुपर्ने बताए। उनका अनुसार अन्तरसरकारी समन्वयको अभावमा विगतमा काम अघि बढाउन कठिनाइ भए पनि परिषद्ले सार्वजनिक यातायात सुधारका लागि प्रभावकारी भूमिका खेल्न सक्छ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुबेर नेपालीका अनुसार यस वर्ष बस स्टप र पिक–ड्रप प्वाइन्ट निर्धारण, रात्रि बस सञ्चालनको मापदण्ड, सम्झौताको मोडल तथा मुख्य बस स्टप र बसपार्कमा जीपीएसमा आधारित सूचना प्रणाली विकास गर्ने तयारी छ।
त्यस्तै, स्थानीय तहसँगको सहकार्यमा नगदरहित भाडा प्रणाली लागू गर्न कानुनी आधार तयार गर्ने, यात्रुलाई टिकट लिन प्रोत्साहित गर्ने अभियान सञ्चालन गर्ने तथा सार्वजनिक यातायातसम्बन्धी अध्ययन–अनुसन्धान अघि बढाउने निर्णय भएको छ।
संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको कामको सञ्चालन, रेखदेख र व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाका प्रमुखको अध्यक्षतामा परिषद् गठन हुने कानुनी व्यवस्था छ। परिषद्मा ललितपुर र भक्तपुर महानगर तथा नगरपालिका, संघीय तथा प्रदेश सरकारका सम्बन्धित निकाय, ट्राफिक प्रहरी, यातायात व्यवसायी, उपभोक्ता, विज्ञ, श्रमिक, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका प्रतिनिधिसमेत रहने व्यवस्था छ।
Read More