२०८३ भाद्र ८

स्वच्छ ऊर्जा कार्यक्रमका लागि ३६ जना जनशक्ति माग

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले तराईका २२ जिल्लामा सञ्चालन भइरहेको स्वच्छ खाना पकाउने ऊर्जा कार्यक्रमका लागि ३६ जना जनशक्ति माग गरेको छ।

केन्द्रले सार्वजनिक सूचना जारी गर्दै ‘क्लिन कुकिङ सोलुसन्स मोबिलाइजर’ अर्थात् स्वच्छ ऊर्जा परिचालक पदमा सेवा करारमार्फत कर्मचारी छनोट गर्न आवेदन आह्वान गरेको हो।

हरित जलवायु कोषको सहयोगमा तराईका २२ जिल्लाका बढीमा १५० स्थानीय तहमा स्वच्छ खाना पकाउने ऊर्जासम्बन्धी सीसीएस कार्यक्रम सञ्चालन भइरहेको छ।

कार्यक्रम अवधिभर काम गर्ने गरी कुल ३६ जना स्वच्छ ऊर्जा परिचालक नियुक्त गर्न लागिएको केन्द्रले जनाएको छ। माग गरिएका पदमध्ये १८ जना खुला प्रतिस्पर्धाबाट र थप १८ जना महिलाबाट छनोट गरिने व्यवस्था गरिएको छ।

केन्द्रका अनुसार परिचालकहरूले कार्यक्रम कार्यान्वयनमा स्थानीय तहसँग समन्वय गर्नुका साथै स्वच्छ खाना पकाउने ऊर्जाको प्रवर्द्धन तथा कार्यक्रमसँग सम्बन्धित गतिविधिमा सहयोग गर्नेछन्।