२०८३ भाद्र ८

अमेरिकाको कुल सार्वजनिक ऋण ४०० खर्ब डलर नाघ्यो

काठमाडौं । अमेरिकाको कुल सार्वजनिक ऋण पहिलोपटक ४०० खर्ब डलरभन्दा माथि पुगेको छ। सरकारी आम्दानीको तुलनामा खर्च लगातार उच्च रहँदै आएपछि ऋणको आकार ऐतिहासिक स्तरमा पुगेको हो।

अमेरिकी अर्थ मन्त्रालयका तथ्याङ्कअनुसार सन् २०१७ जनवरीमा डोनाल्ड ट्रम्पले पहिलोपटक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दा अमेरिकी ऋण करिब १९९ खर्ब ५० अर्ब डलर थियो। त्यसयता ऋणको आकार दोब्बरभन्दा बढी भएको छ।

कोरोना महामारी सुरु भएपछि ऋण वृद्धिको गति अझ तीव्र बनेको देखिन्छ। महामारी नियन्त्रण, आर्थिक राहत तथा प्रभावित क्षेत्रलाई सहयोग गर्न ट्रम्प प्रशासन र त्यसपछि जो बाइडेन प्रशासनले ठूलो परिमाणमा सरकारी खर्च गरेका थिए।

ट्रम्पले दोस्रोपटक राष्ट्रपतिको पद सम्हालेको सन् २०२५ जनवरीयता मात्रै अमेरिकी ऋण करिब ३८ खर्ब डलर थपिएको छ। उनका दुई कार्यकाललाई जोड्दा अमेरिकी ऋणमा भएको वृद्धि करिब ११६ खर्ब डलर पुगेको तथ्याङ्कले देखाउँछ।

त्यस्तै, बाइडेनको कार्यकालमा अमेरिकी ऋण करिब ८४ खर्ब डलर बढेको थियो। महामारीपछिको आर्थिक पुनरुत्थान, पूर्वाधार निर्माण, स्वच्छ ऊर्जा प्रवर्द्धन तथा अन्य सरकारी कार्यक्रमका लागि भएको ठूलो खर्चले ऋण बढाउन योगदान गरेको बताइएको छ।

बाइपार्टिसन पोलिसी सेन्टरकी प्रमुख कार्यकारी मार्गरेट स्पेलिङ्सले संघीय सरकारको खर्च आम्दानीभन्दा निरन्तर बढी भइरहेको बताएकी छन्। उनका अनुसार संघीय बजेटका प्रमुख खर्च क्षेत्रहरूमा निरन्तर वृद्धि भइरहेको छ।

४०० खर्ब डलरको ऋणलाई अमेरिकी जनसङ्ख्यामा समान रूपमा बाँड्दा प्रतिव्यक्ति करिब १ लाख १७ हजार डलर बराबर पर्न जान्छ। परिवारको औसत आधारमा हिसाब गर्दा यो रकम करिब २ लाख ९७ हजार डलर पुग्ने अनुमान गरिएको छ।