काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नागरिकलाई सेवा प्रदान गर्ने क्रममा ललितपुर महानगरपालिकाले अघि बढाएका काम प्रशंसनीय र अन्य स्थानीय तहका लागि उदाहरणीय रहेको बताएका छन्।
ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’को उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले महानगरले कला, संस्कृति र सभ्यताको संरक्षणमा पुर्याएको योगदान पनि अनुकरणीय रहेको बताए।
ललितपुर र भक्तपुरले नेपालको कला, संस्कृति तथा परम्परा संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले यी क्षेत्रमा पुग्दा देशको सांस्कृतिक गौरव महसुस हुने बताए। महानगरपालिकाले नयाँ सोचका साथ अघि सारेका कार्यक्रमबाट गृह मन्त्रालयले समेत सिक्न सक्ने उनको भनाइ थियो।
स्थानीय तहमा प्रविधि र नवप्रवर्तनमा आधारित कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै गृहमन्त्री गुरुङले आफूमा शासकीय अहंकार र सत्ताको लोभ नरहेको बताए। उनले देश र समाजको हितमा सकारात्मक काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालकुमारीदेखि बल्खुसम्मको ७ दशमलव ९ किलोमिटर सडकखण्डमा स्मार्ट स्ट्रिट लाइट जडान गरिएको जानकारी दिए। सडकमा पर्याप्त प्रकाशको व्यवस्था भएपछि दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने उनको अपेक्षा छ।
महर्जनले नेपालमा स्मार्ट स्ट्रिट लाइटको अवधारणा कार्यान्वयनमा ल्याउने काम ललितपुर महानगरपालिकाले सुरु गरेको दाबीसमेत गरे।




