२०८३ भाद्र २८

आजको राशिफल: कुन राशिका लागि कस्तो रहला शनिबार

काठमाडौं । आज २०८३ भदौ २० गते शनिबार अर्थात् ५ सेप्टेम्बर २०२६। भाद्र कृष्णपक्ष नवमी तिथि परेको छ। आज मृगशिरा नक्षत्र रहेको छ भने चन्द्रमा वृष राशिमा छन्। बिहान १०ः२८ बजेपछि चन्द्रमा मिथुन राशिमा प्रवेश गर्नेछन्।

ग्रह–नक्षत्रको प्रभावअनुसार आज केही राशिका लागि नयाँ अवसरको ढोका खुल्ने देखिन्छ भने केहीले खर्च, स्वास्थ्य र सम्बन्धका विषयमा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ। तपाईंको राशिका लागि आजको दिन कस्तो रहनेछ?

मेष
आत्मविश्वासको कमीले अवसरबाट पछि पर्न सकिने भएकाले निर्णय गर्दा दृढ रहनुहोला। हतारमा दिएको वचनले समस्या निम्त्याउन सक्छ। शुभचिन्तकको सुझावलाई बेवास्ता नगर्नु राम्रो हुनेछ। दिउँसोपछि नयाँ योजनामा अघि बढ्ने अवसर मिल्नेछ। उद्योग तथा व्यापारमा लाभको योग छ। रोकिएका काम अघि बढ्नुका साथै नयाँ काम सुरु गर्न पनि अनुकूल समय रहनेछ। सहयोग र उपहार प्राप्त हुँदा मन उत्साहित बन्नेछ।

वृष
अवसरहरू देखिए पनि मनोरञ्जन र अन्य कुरामा अलमलिँदा महत्वपूर्ण काम प्रभावित हुन सक्छ। अपेक्षित नतिजा नआए काम दोहोर्याउनुपर्ने अवस्था आउन सक्छ। स्वास्थ्यमा कमजोरी महसुस हुनसक्छ, त्यसैले आराममा ध्यान दिनुहोला। आफन्तसँगको सम्बन्ध सुमधुर बनाउन व्यवहारमा सजग रहन आवश्यक छ। दिउँसोपछि बजार वा किनमेलतर्फ जाँदा अनावश्यक खर्च बढ्न सक्छ। उधारो कारोबारबाट भने लाभ मिल्न सक्नेछ।

मिथुन
अरूको उक्साहटमा लागेर अनावश्यक खर्च हुने सम्भावना छ। आफूले चाहेको अवसर प्राप्त गर्न भने मेहनत गर्नुपर्नेछ। विदेश जाने तयारीमा रहेकाहरूका लागि यात्रासम्बन्धी प्रक्रिया अघि बढ्न सक्छ। छरछिमेकमा सामान्य असमझदारी देखिए पनि दिउँसोपछि परिस्थिति सहज बन्दै जानेछ। आफन्तसँग भेटघाट हुनुका साथै रमाइलो वातावरणमा समय बित्नेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ भने सहयोगीको साथले उत्साह बढाउनेछ।

कर्कट
बिहानको समय विशेष फलदायी रहनेछ। व्यापार, साझेदारी तथा सट्टापट्टाबाट लाभ लिन सकिनेछ। मेहनतको उचित मूल्य पाउनुका साथै आम्दानीसमेत बढ्ने सम्भावना छ। काम बन्नेछ, तर त्यससँगै जिम्मेवारी पनि थपिन सक्छ। दिउँसोपछि नयाँ अवसरका लागि दौडधुप गर्नुपर्नेछ। व्यवसाय विस्तारका लागि थप लगानी आवश्यक पर्न सक्छ। आकस्मिक खर्च बढ्ने भएकाले सञ्चित रकमको व्यवस्थापनमा ध्यान दिनुहोला।

सिंह
आज आफ्नो क्षेत्रमा प्रभाव र प्रतिष्ठा बढाउने अवसर मिल्न सक्छ। निरन्तरको मेहनतले नयाँ सम्भावनाका ढोका खोल्नेछ। प्रभावशाली व्यक्तिसँग सम्बन्ध विस्तार हुने तथा सहयोग प्राप्त हुने योग छ। दिउँसोपछि गुमेको स्थान वा प्रभाव पुनः प्राप्त गर्न सकिनेछ। आम्दानीका नयाँ स्रोत भेटिन सक्छन्। पुराना समस्या समाधान भएपछि थप अवसर प्राप्त हुनेछन्। लगनशीलताले नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ।

कन्या
विवाद निम्त्याउने कामबाट टाढा रहनु राम्रो हुनेछ। ईर्ष्या गर्ने व्यक्तिका कारण अनावश्यक समस्या आउन सक्छ। अरूका काममा समय दिँदा आफ्ना जिम्मेवारी प्रभावित हुन सक्छन्। हतारमा गरिएको काममा त्रुटि भएर दोहोर्याउनुपर्ने अवस्था आउन सक्छ। दिउँसोपछि भने परिस्थिति अनुकूल बन्दै जानेछ। रोकिएका काम अघि बढ्नेछन् र निरन्तरको प्रयासले लक्ष्यतर्फ पुग्न सहयोग गर्नेछ। सानो प्रयासबाट अरूलाई सहयोग पुर्‍याउने अवसरसमेत मिल्नेछ।

तुला
स्वास्थ्यमा देखिन सक्ने कमजोरीले दैनिक काम प्रभावित हुन सक्छ। खर्च र चुनौती बढ्ने समय भएकाले आर्थिक तथा व्यक्तिगत निर्णयमा सावधानी अपनाउनुहोला। समस्या परे सहयोगी व्यक्तिहरूको साथ मिल्नेछ। बुद्धिको सही प्रयोगले कठिन परिस्थिति पार गर्न सकिनेछ। दिउँसोपछि अवस्था क्रमशः अनुकूल बन्दै जानेछ। मेहनत गरेअनुसार उपलब्धि मिल्नेछ। तत्काल सबै काम पूरा गर्न नसकिए पनि भविष्यका लागि राम्रो योजना बनाउन सकिने दिन हो।

वृश्चिक
रमाइलो यात्रा तथा नयाँ अनुभवको अवसर मिल्न सक्छ। आकर्षक उपहार प्राप्त हुँदा मन उत्साहित हुनेछ। विशेष कामका लागि बिहानको समय अनुकूल रहनेछ। प्रशंसायोग्य काम सम्पन्न हुँदा प्रशंसक र शुभचिन्तक बढ्नेछन्। तर दिउँसोपछि काम बिग्रने हो कि भन्ने चिन्ताले सताउन सक्छ। उपलब्धि अपेक्षाभन्दा कम भए पनि धैर्य राख्नुहोला। स्वास्थ्यका लागि खानपान र दैनिक जीवनशैलीमा ध्यान दिन आवश्यक छ।

धनु
निरन्तर प्रयास गरे लक्ष्यमा पुग्न सकिने दिन छ। मेहनत र आत्मविश्वासले प्रतिस्पर्धामा सफलता दिलाउन सक्छ। परिस्थितिअनुसार केही सम्झौता गर्नुपरे पनि आफ्नो अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दीर्घकालीन फाइदा दिने काम सुरु हुन सक्छ। दिउँसोपछि नयाँ अवसरहरू प्राप्त हुनेछन्। व्यापारिक यात्राले पनि लाभ दिलाउन सक्छ। कला, ज्ञान र व्यक्तित्वमा थप निखार आउनेछ।

मकर
बिहान सानातिना समस्याले अलमल्याउन सक्छ। कामको नतिजा कमजोर आएमा सुधारका लागि पुनः प्रयास गर्नुपर्ने देखिन्छ। भने मेहनती व्यक्तिका लागि दिन समग्रमा उत्साहजनक रहनेछ। बुद्धिको प्रयोगले जटिल समस्या समाधान गर्न सकिनेछ। दिउँसोपछि परिस्थिति अनुकूल बन्दै जानेछ। प्रतिस्पर्धामा सफलता हात लाग्नेछ भने विरोधी वा ईर्ष्या गर्नेहरू कमजोर हुनेछन्। आफ्नो क्षमता र पराक्रमबाट अधिकार स्थापित गर्न सकिनेछ। यात्रामा स्वास्थ्यको ख्याल गर्नुहोला।

कुम्भ
अरूको हितमा बढी समय र ऊर्जा खर्चिए पनि आफ्ना लागि परिस्थिति केही प्रतिकूल रहन सक्छ। विश्वास गरेका व्यक्तिबाट निराश हुनुपर्ने अवस्था आउन सक्छ। हिस्सेदार वा साझेदारसँगको असमझदारीले पुरानो सम्झौता प्रभावित हुनसक्छ। बोल्दा विचार पुर्‍याउनुहोला। दिउँसोपछि अवस्था सुधार हुँदै जानेछ र पुराना समस्या समाधान गर्ने अवसर मिल्नेछ। विगतका कमजोरी सच्याउँदै अघि बढ्न सकिनेछ। अध्ययन तथा ज्ञान आर्जनका क्षेत्रमा प्रगति हुने योग छ।

मीन
बिहानको समय कामका लागि निकै अनुकूल रहनेछ। आवश्यक भौतिक साधन जुटाउन सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै मेहनतको फल प्राप्त गर्ने अवसर मिल्नेछ। पेसा तथा व्यवसायमा लाभ हुने सम्भावना छ। सेवामूलक कामबाट प्रतिष्ठा बढ्नेछ। तर दिउँसोपछि व्यक्तिगत समस्याका कारण काममा केही अवरोध आउन सक्छ। नजिकका साथीभाइसँग दूरी बढ्दा एक्लोपन महसुस हुनसक्छ। व्यवसायमा देखिएका समस्या समाधान गर्न केही दौडधुप गर्नुपर्ने देखिन्छ।