२०८३ भाद्र २८

माथिल्लो त्रिशूली-१ आयोजनामा थप ६ शव भेटिए, ५५१ अझै सम्पर्कविहीन

काठमाडौं । बाढीले तहसनहस बनाएको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा खोजी तथा उद्धारका क्रममा थप ६ जनाको शव भेटिएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार आयोजनाको सल्लेटार क्षेत्रमा खोजी गर्दा क्षतविक्षत अवस्थामा शव फेला परेका हुन्। पहिचान खुल्न नसकेका शवलाई नेपाली सेनाको टोलीले बट्टार पुर्‍याएको छ।

आयोजनाको हेडवर्क्स र सुरुङ क्षेत्रमा शुक्रबार दिनभर उद्धार टोली परिचालन गरिएको थियो। खोजीलाई प्रभावकारी बनाउन कोरियाली प्राविधिक टोली, शेर्पा, सर्च तथा ड्रोन टोली, विशेष क्यामेरा र तालिमप्राप्त कुकुर परिचालन गरिएको छ।

सुरुङभित्र जम्मा भएको पानी बाहिर निकाल्न वाटर पम्प निरन्तर सञ्चालनमा छन् भने उद्धारका लागि १५ वटा ठूला मेसिन तथा उपकरणसमेत आयोजनास्थलमा पुर्‍याइएको छ। शनिबारदेखि खोजी तथा उद्धारलाई थप तीव्र बनाउने तयारी गरिएको छ।

बाढी आउनुअघि आयोजनास्थलमा १ हजार ४३३ जना श्रमिक तथा कर्मचारी कार्यरत थिए। तीमध्ये ८७६ जनाको सकुशल उद्धार भइसकेको छ भने ५५१ जना अझै सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।

सम्पर्कविहीनहरूको खोजी तीव्र पार्दै आयोजनाको सुरुङ तथा हेडवर्क्स क्षेत्रमा उद्धार टोलीले काम जारी राखेको छ।