२०८३ भाद्र २८

चीनको छिङताओमा जहाजमा आगलागी, २५ जनाको मृत्यु

काठमाडौं। पूर्वी चीनको तटीय सहर छिङताओमा मर्मतका लागि राखिएको विदेशी मालवाहक जहाजमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ। घटनामा पाँच जना घाइते भएका छन्।

‘चाइना स्टेट सिपिङ कर्पोरेसन छिङताओ बेइहाइ सिपिङ’ को सिपयार्डमा रहेको जहाजमा बिहीबार बिहान करिब ११:१५ बजे आगो लागेको स्थानीय अधिकारीहरूले बताएका छन्। आगलागी हुँदा जहाजमा ४२ जना रहेका थिए।

घटना भएपछि आपत्कालीन व्यवस्थापन टोली, दमकल, प्रहरी र स्वास्थ्यकर्मी उद्धारका लागि परिचालन भएका थिए। उद्धार टोलीले जहाजबाट १२ जनालाई सुरक्षित बाहिर निकालेको थियो भने घाइते पाँच जनालाई उपचारका लागि स्थानीय अस्पताल लगिएको थियो।

अस्पतालमा उपचाररत पाँचै जनाको अवस्था स्थिर रहेको र उनीहरू खतरामुक्त रहेको चिकित्सकहरूले बताएका छन्।

दमकलकर्मीको प्रयासपछि करिब २:३० बजे आगो नियन्त्रणमा आएको थियो। आगलागीपछि २५ जना सम्पर्कविहीन भएको जानकारी आएपछि जहाजभित्र खोजी अभियान सञ्चालन गरिएको थियो।

खोजीका क्रममा बेपत्ता भनिएका सबै २५ जनाको शव फेला परेको स्थानीय प्रशासनले बिहीबार साँझ पुष्टि गरेको छ।

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाको कारण पत्ता लगाउन प्राविधिक टोलीले अनुसन्धान अघि बढाएको स्थानीय अधिकारीहरूले जनाएका छन्।