काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले सडक तथा अन्य सम्पर्क मार्ग अवरुद्ध भएपछि उद्धार तथा खोजी कार्य प्रभावित बनेको छ। यस्तो अवस्थामा नेपाली सेनाको नेतृत्वमा रहेको सुरक्षा निकायको संयुक्त टोली चिलिमे जलविद्युत आयोजनाको सुरुङमार्गसम्म पुग्ने वैकल्पिक पहुँच निर्माणमा जुटेको छ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नदी पार गरी सुरुङमार्गसम्म पुग्न तुइन जडानको काम अघि बढाएको हो। सडकमार्गबाट पुग्न नसकिने भएपछि उद्धार तथा अवस्थाबारे जानकारी लिन यो उपाय अपनाइएको सुरक्षा टोलीले जनाएको छ।
अविरल वर्षासँगै आएको बाढीले सडक सञ्जालमा क्षति पुर्याएपछि भोटेकोशी नदीपारिको क्षेत्रमा प्रत्यक्ष पहुँच कठिन बनेको छ। गत भदौ १० गतेको बाढीपछि उक्त क्षेत्रसँगको सम्पर्क पूर्ण रूपमा टुटेकाले त्यहाँको पछिल्लो अवस्थाबारे यकिन विवरण प्राप्त हुन सकेको छैन।
क्षेत्रमा ठूलो क्षति भएको हुनसक्ने आशंका रहेकाले सुरुङमार्गसम्म पहुँच स्थापित भएपछि खोजी तथा उद्धार कार्यलाई तीव्रता दिने तयारी गरिएको छ।




