काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीलाई नेपालमा सीमित विपद्का रूपमा नहेरी विश्वकै लागि जलवायु संकटको गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक विपद्ले जलवायु परिवर्तनको असर थप गम्भीर बन्दै गएको देखाएको उल्लेख गरे।
उनले केही समयअघि भोटेकोशी क्षेत्रमा आएको बाढीलाई ‘हिमालयन सुनामी’का रूपमा समेत व्याख्या गरिएको स्मरण गर्दै विश्व समुदायले यस्ता घटनाबाट पर्याप्त पाठ सिक्नुपर्ने बताए। “के हामीले त्यो चेतावनी वास्तवमै सुनेका छौँ?” भन्दै उनले अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रश्नसमेत राखे।
प्रधानमन्त्री शाहले तीन वर्षअघि संयुक्त राष्ट्रसङ्घका महासचिवले सगरमाथा क्षेत्रमा पुगेर हिमाल तीव्र गतिमा पग्लिरहेको र त्यसले विश्वलाई जलवायु संकटको जोखिमबारे संकेत गरिरहेको बताएका प्रसङ्ग पनि उल्लेख गरे।
उनका अनुसार हिमाली क्षेत्रमा तापक्रम बढ्दै जाँदा जमेको माटो पग्लने, भू–भागमा चिरा पर्ने तथा हिमचट्टानसहितका पहिरो र बाढीको जोखिम बढिरहेको छ।
शाहले जलवायु परिवर्तनका कारण संवेदनशील हिमाली पारिस्थितिक प्रणालीमा परेको असरले जोखिममा रहेका समुदायलाई प्रत्यक्ष प्रभावित गरिरहेको भन्दै यसको सामना गर्न विश्वस्तरमा प्रभावकारी कदम आवश्यक रहेको बताए।




