२०८३ आश्विन १४

बिना कारण पक्राउको क्रम नरोकिए ठूलो मूल्य चुकाउनुपर्ने प्रचण्डको चेतावनी

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले कुनै ठोस कारणबिना विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम जारी राखे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

सोमबार सिंहदरबारस्थित संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउप्रति असन्तुष्टि व्यक्त गरे। उनले पक्राउको स्पष्ट आधार नदेखिएको भन्दै सरकारको यस्तो कार्यशैलीप्रति प्रश्न उठाएका हुन्।

सरकारले एक व्यक्तिमाथि कारबाही गरेर अन्यलाई त्रसित बनाउने उद्देश्य राखेको हो भने त्यसले अन्ततः सरकारलाई नै नोक्सान पुर्‍याउने उनको भनाइ थियो। यस्ता गतिविधि तत्काल रोक्न पनि उनले सरकारलाई आग्रह गरे।

पक्राउको कारणका रूपमा प्रस्तुत गरिएको ‘सुरक्षा थ्रेट’बारे पनि प्रचण्डले प्रश्न उठाए। वास्तविक रूपमा सुरक्षा जोखिम रहेको अवस्था भए सम्बन्धित व्यक्तिलाई पक्राउ गर्नुको सट्टा उनको निवासमै सुरक्षा व्यवस्था थप गर्न सकिने उनको तर्क थियो।

यसैबीच, संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले व्यक्त गरेका धारणा स्वाभाविक भएको प्रचण्डले बताए। उनले प्रधानमन्त्रीले वर्तमान परिस्थितिमा राख्नुपर्ने विषय नै महासभामा प्रस्तुत गरेको उल्लेख गर्दै त्यसलाई लिएर अनावश्यक रूपमा अतिरञ्जना गर्न आवश्यक नरहेको धारणा राखे।

उनका अनुसार प्रधानमन्त्रीको स्थानमा अन्य व्यक्ति रहेको भए पनि त्यही सन्दर्भमा समान किसिमको धारणा प्रस्तुत हुन सक्थ्यो।