काठमाडौँ । केपी खनालको तीनतले घरलाई लिएर सामाजिक सञ्जालमा बहस चुलिएको छ। ‘बालेनको साथीको घर’ भन्दै तस्बिर भाइरल भएपछि उनले घरको स्रोत र जग्गाबारे स्पष्टीकरण दिएका हुन्।
खनालका अनुसार उक्त घर उनको व्यक्तिगत आम्दानीले नभई आमा–बुवाको वर्षौँको मेहनतबाट बनेको हो। ऐलानी जग्गामा घर बनेको आरोपबारे उनले सुदूरपश्चिम तराई क्षेत्रमा धेरैजसो बस्ती यस्तै जग्गामा रहेको उल्लेख गर्दै यो सार्वजनिक वा सरकारी जमिन नभएको स्पष्ट पारे।
उनले दशकौँदेखि बसोबास गर्दै आएको तर लालपुर्जा नभएको जग्गामा घर निर्माण गरिएको बताए। साथै, आफ्नो परिवारले भारतमा लामो समयसम्म काम गरेर कमाएको आम्दानीबाट घर बनेको दाबी गरे।
परिवारको दुःख–मिहिनेतबाट बनेको सम्पत्तिमाथि प्रश्न उठाइएकोप्रति दुःख व्यक्त गर्दै खनालले आफू भने देशमै बसेर केही गर्ने सोचका साथ अघि बढिरहेको बताएका छन्।




