काठमाडौं। अनामनगरस्थित धोबीखोला किनारमा रहेको चर्चित साततले भवनमाथि कारबाही गर्दै सरकार र महानगरले आज डोजर चलाएको छ। मापदण्डविपरीत बनेको भनिएको उक्त भवनको चार तला भत्काइएसँगै घरधनी इन्द्रकुमार चाम्लिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
भवन भत्काउने क्रममा गरिएको निरीक्षणमा प्रहरी पोसाक, आर्मी जस्तै देखिने ड्रेस र हतियारजस्तो शंकास्पद सामग्री भेटिएको जनाइएको छ। ती सामग्रीका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक सोधपुछपछि चाम्लिङलाई कागज गराएर आवश्यक परेमा उपस्थित हुने शर्तमा छाड्ने तयारी गरिएको छ। खोला किनारका अवैध संरचना हटाउने अभियान अन्तर्गत यो कारबाही गरिएको हो।




