२०८३ कार्तिक १३

सडक पुगेपछि बढ्दै दोभानको आन्तरिक पर्यटन चहलपहल

काठमाडौं। म्याग्दीको दोभान पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। केही वर्षअघिसम्म बर्खायाममा पशुचौपाया राख्ने घुम्तीगोठका रूपमा सीमित यो क्षेत्र अहिले धौलागिरि चक्रीय पदमार्गको महत्वपूर्ण विश्रामस्थल बनेको छ।

समुन्द्री सतहदेखि करिब तीन हजार मिटर उचाइमा रहेको दोभान वरिपरि घना जंगल, अग्ला हिमाल र शान्त वातावरणले पर्यटकलाई लोभ्याउने गरेको छ। धौलागिरि चौथोबाट आउने कुनावाङ खोला र धौलागिरि पहिलोबाट बग्ने म्याग्दी नदीको संगम भएकाले यस स्थानको नाम ‘दोभान’ राखिएको स्थानीय बताउँछन्।

दोभानबाट पैदलयात्रा गर्दै इटाली आधार शिविर र चर्चित कुनावाङ ताल पुग्न सकिन्छ। यहाँ मृग, घोरल र झारलजस्ता वन्यजन्तु अवलोकनका साथै वसन्तयाममा फुल्ने लालीगुराँसले थप आकर्षण बढाउने गरेको छ।

पर्यटकको सुविधाका लागि दोभानमा दुई होटल सञ्चालनमा छन् भने सडक पुगेपछि जिप र मोटरसाइकलमार्फत यात्रा सहज बनेको छ। यातायात सुविधा विस्तारसँगै पछिल्लो समय आन्तरिक पर्यटकको आगमन पनि बढ्न थालेको स्थानीयले बताएका छन्।