२०८३ जेष्ठ २७

देशका विभिन्न स्थानमा आगलागी, लाखौँको धनमाल जलेर नष्ट

काठमाडौँ । देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टाभित्र भएका आगलागीका घटनाबाट लाखौँ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । अधिकांश घटनामा विद्युत् सर्ट तथा चुहावटलाई कारण मानिएको प्रहरीले जनाएको छ ।

दाङको गढवा गाउँपालिका–६ मा भुवनसिंह पुनको घर र गोठमा विद्युत् चुहावटका कारण आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

यस्तै ललितपुर महानगरपालिका–१४ ताल्चीखेलस्थित ‘न्यू खुकुरी रेष्टुरेन्ट’ मा आज बिहान विद्युत् सर्ट भई आगलागी हुँदा करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित एसएस सुज सेन्टरमा गएराति आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको सामान जलेको छ ।

सुनसरीको बर्जु गाउँपालिका–६ मा मन्जुदेवी रामको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ भने मोरङको कानेपोखरी गाउँपालिका–१ मा रहेको किराना पसलमा आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको सामान नष्ट भएको छ ।

कञ्चनपुर र कैलालीमा पनि आगलागीका घटना भएका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मा रहेको एक घर तथा कैलालीको धनगढीस्थित जय श्री लटिनाथ ट्रेडर्समा आगलागी भए पनि क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

लगातार बढिरहेका आगलागीका घटनापछि प्रहरीले विद्युत् लाइन, तार र उपकरणको नियमित जाँच गर्न तथा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।