काठमाडौँ । यही जेठ १६ गते अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएकी छन् ।
१८ गतेसम्म नेपालमा रहने रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम बाग्लेलगायत उच्चस्तरीय राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
चैत १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि अमेरिकाबाट हुन लागेको यो अर्को उच्चस्तरीय भ्रमण हो । यसअघि वैशाख ७ गते अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमणमा आएका थिए । त्यसपछि वैशाख १७ गते दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत तथा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर पनि नेपाल आएका थिए ।
यसैबीच, अमेरिकी उपविदेशमन्त्री रोजर्स स्वदेश फर्किने दिनमै रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने तयारीमा रहेका छन् । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।
लामिछानेले भारतीय जनता पार्टी (भाजपा)को मुख्यालय अवलोकन गर्नुका साथै पार्टी अध्यक्ष नवीनसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रमसमेत रहेको छ ।
भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा, निकिता पौडेल लामिछाने तथा स्वकीय सचिव अविनाश आचार्य सहभागी हुनेछन् । लामिछाने जेठ २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।



