२०८३ असार १३

लगातार वर्षापछि देशभरका मुख्य राजमार्ग प्रभावित, कतिपय सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले बुधबार बिहान सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा यातायात सेवा पूर्ण तथा आंशिक रूपमा प्रभावित बनेको हो।

कोशी प्रदेशमा बाढी र पहिरोले सडक सञ्जालमा व्यापक क्षति पुर्‍याएको छ। पाँचथर जिल्लाको याङ्वारक गाउँपालिका–३ स्थित ओयाम बजार र रिजालभिर क्षेत्रमा जेठ ८ गते गएको पहिरोका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमनमा रोक लगाइएको छ। काभ्रेपलाञ्चोक जिल्लाको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी सडकखण्ड हुँदै सञ्चालन हुने सम्पूर्ण सवारी साधनलाई सम्भावित बाढीको जोखिमका कारण जेठ २२ गतेदेखि बीपी राजमार्गमा सञ्चालन गर्न रोक लगाइएको छ।

गण्डकी प्रदेशका केही सडक खण्डमा भने एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ। म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा जेठ १६ गते तथा रघुगंगा गाउँपालिका–३ तल्लो बैसरीमा जेठ ७ गते गएको पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको छ।

त्यसैगरी, रघुगंगा गाउँपालिका–१ उपल्लो बैसरी क्षेत्रमा जेठ १३ गते बिहान खसेको नयाँ पहिरोले पनि उक्त सडकखण्डको यातायात सेवा थप प्रभावित बनाएको छ।